काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमित निरन्तर बढ्दै गएका छन् । शुक्रबार सबैभन्दा बढी ७१ हजार ७८७ जना संक्रमित थपिएको अमेरिकामा शनिबार ६१ हजार ७१९ र आइतबार ५८ हजार ३४९ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्म संक्रमितको संख्या ३४ लाख १३ हजार ९९५ पुगेको छ । सबैभन्दा बढी पीडित अमेरिकामा मृतकको संख्या १ लाख ३७ हजार ७८२ रहेको छ । आइतबार ३८० जनाको ज्यान गएको छ ।
आइतबार सबैभन्दा बढी संक्रमित फ्लोरिडामा पाइएका छन् । त्यहाँ १५ हजार ३०० संक्रमित थपिएका छन् । शनिबार १० हजार ३६० जना थपिएका थिए ।
आइतबार सबैभन्दा बढी मृत्यु भने एरिजोनामा ८६ जनाको ज्यान गएको छ । फ्लोरिडामा ४५ जनाले ज्यान गुमाए ।
सबैभन्दा बढी संक्रमित रहेको न्यूयोर्कमा संक्रमित थपिने क्रम घट्दो छ । आइतबार ८३१ जनामात्र थपिएका छन् ।
दोस्रो स्थानको क्यालिफोर्नियामा ७ हजार ७०२ संक्रमित थपिएका छन् ।
फ्लोरिडा तेस्रो स्थानमा छ । त्यहाँ अमेरिकाको ७ प्रतिशत जनसंख्या रहेको छ ।
अमेरिकामा स्वतन्त्रता खोज्नेहरुको संख्या उल्लेख्य रहेकाले पनि कोरोना फैलिएको दावी गरिन्छ । लकडाउनमा धेरै समय बस्न नचाहने भएकाले पनि यो समस्या आएको बताइन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पहिलो पटक खुला स्थानमा मास्क लगाएका थिए ।