काठमाडौ । पाकिस्तानको उत्तरी बजिरिस्तान क्षेत्रमा विद्रोही आक्रमणमा परी चार सैनिक मारिएका छन् । थुप्रै घाइते भएका छन् । केहीको हालत गम्भीर रहेको बताइएको छ ।
समाचारमा बताइए अनुसार सेना र विद्रोहीबीच बजिरिस्तानको मीरानशाह शहर नजिकै भिडन्त भएको हो ।
गत हप्ता मात्र उक्त क्षेत्रमा एउटा इन्काउन्टर भएको थियो । उक्त समय पाकिस्तानी सेनाको एक चौकी उडाइएको थियो ।
तीन सैनिक मारिएका पनि थिए । आइतबार भएको यो घटनामा तीन विद्रोही पनि मारिएको खवर छ ।
‘द डन’ को रिपोर्ट अनुसार मीरानशाहभन्दा ८ किलोमिटर टाढा बोया इलाकामा विद्रोहीहरु रहेको खवर पाइएपछि सेनाले केही गाडी हतियारसहित आक्रमण गर्न गयो । तर विद्रोहीहरुले सेनाले मोर्चा सम्हाल्नु पहिले नै आक्रमण गरेर चार सैनिक मारिदिएको हो ।
यसैबीच संसद बैठकमा विपक्षी नेता शहबाज शरीफले सैनिक मारिएको सम्बन्धमा इमरान खान सरकारसंग जवाफ मागेका छन् । उनले सरकारको नालायकीका कारण आफूहरुले पाकिस्तानी सेना गुमाउनु परेको आरोप लगाएका छन् ।
गत मे महिनामा पनि एक इन्काउन्टर हुँदा सात सैनिकको ज्यान गएको थियो ।