काठमाडौं। कोरोना महामारीका कारण बैंकिङ क्षेत्रको आम्दानी घटेको र खर्च यथावत हुँदा बैंकिङ क्षेत्रमा आर्थिक भार बढ्ने भन्दै नेपाल बैंकर्स एसोसिएसन (संघ)ले खर्च कटौतीका केही विकल्पहरु अघि सारेको छ । एसोसिएसनले बैंकहरुको खर्च कटौतीको लागि शहर केन्द्रित शाखा कटौतीदेखि डिजिटलाइजेसनमा जोड दिनेगरी विकल्प अघि सारेको हो ।
नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माले एसोसिएसनले आन्तरिक रुपमा के कसरी खर्च कम गर्न सकिन्छ भनेर अध्ययन गरेर खर्च कटौतीका लागि विभिन्न विकल्प अघि सारिएको जानकारी दिए।
संघले शहरी क्षेत्रमा एकै ठाउँमा बढी संख्यामा रहेका बैंकका शाखा कटौती गर्न सकिने एउटा विकल्प अघि सारिएको छ । त्यस्तै शहरी क्षेत्रमा एकै ठाउँमा रहेका एटीएमको संख्या समेत कम गर्न सकिने एसोसियसनको अर्को विकल्प रहेको छ । ‘खर्च कसरी कम गर्न सकिन्छ भनेर आन्तरिक रुपमै गरिएको अध्ययनमा केही बुँदा तयार पारेका छौं’ शर्माले हाम्राकुरा डटकमसँग भने, ‘एकै ठाउँमा धेरै शाखाहरु रहेकामा कटौती गर्ने, एकै ठाउँमा लहरै राखिएका एटिमएम हटाउन सकिने, डिजिटलाइजेसनमा जोड दिने, क्युआर प्रमोटिङलाई फोकस गर्ने लगायतका बुँदा तयार पारेका छौं ।’
एउटै ठाउँमा सबै बैंकको एटिएम नराखिकन एउटा दुईटा राखेर सबै बैंकको एटिएमले काम गर्ने गरी व्यवस्था गर्दा खर्च कटौतीको एउटा उपाय हुन सक्ने संघले ठानेको छ ।
त्यस्तै इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ बढाउन सकेमा बैकिङ क्षेत्रको खर्च कटौतीमा मदत पुग्ने संघको ठहर छ । ‘डिजिटलाइजेसनलाई बढी प्रोत्साहन गर्नमा पनि केन्द्रित हुन खोजेका छौं’ संघका कार्यकारी निर्देशक शर्माले भने, ‘डक्युमेन्टेसन, एप्रोभल लगायतका कुराहरु डिजिटलाइजेसन गर्ने भन्ने हो ।’
नेपाल राष्ट्र बैंकले पनि आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत डिजिटल बैंकिङलाई बढावा दिने संकेत यसअघि नै गरिसकेको छ। त्यस्तै ग्राहकको केवाइसी एउटै ठाउँबाट गर्न सक्ने बनाउन सकेमा अलिकति खर्च जोगिने संघले जनाएको छ। ‘कस्टमरको केवाइसी अपडेटका कुरा छन् त्यसलाई सबै बैंकमा गर्नुभन्दा सबैको एउटै ठाउँबाट गर्ने कुरा पनि खर्च कटौतीका लागि औंल्याइएको छ’ शर्माले भने।
संघले अध्ययनका क्रममा औंल्याएका तयार पारेका आगाामी दिनमा फेरि छलफल गर्ने र खर्च कटौतीका लागि बैंकहरुलाई उपयुक्त निर्देशन दिने कार्यकारी निर्देशक शर्माले बताए। तर, कतिपय बैंकहरुले खर्च कटौतीका नाममा यसअघि नै ल्याइएका बिमा स्किमहरु हटाउन थालिसकेका छन्।