काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न समाचार वाहिरिएका छन् । अमिताभसहित परिवारलाई कोरोनाभाइरसको संक्रमण भएको छ । शनिबार राति अमिताभ र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण देखिएको थियो । उनीहरू दुबैजनाले आफुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार जानकारी गराएका थिए ।
आइतबार अमिताभकी बुहारी तथा अभिनेत्री ऐश्वर्या र नातिनी आराध्यामा कोरोना संक्रमण देखिएको थियो। ऐश्वर्या र आराध्यामा कोरोना पुष्टि भए पनि लक्षण नदेखिएको बीबीसीको समाचारमा जनाइएको छ।
अहिले अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्याको मुम्बईस्थित नानावती अस्पतालमा कोरोनाको उपचार भइरहेको छ । उनीहरू नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सुरू गरिएको उल्लेख छ । अमिताभ र अभिषेकलाई संक्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ ।
बच्चन परिवारका चार जना सदस्यलाई कोरोना संक्रमण भएपछि उनीहरुसँग कन्ट्याकमा रहेका ५८ जना व्यक्तिहरुको पनि कोरोना परीक्षण भएको छ ।
यसैबीच बलिउडका कलाकार र फ्यानहरुले अमिताभको परिवारको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । बच्चन परिवारको स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ र यज्ञ भएका छन् । अमिताभले आफूमा कोरोना संक्रमण भएको जानकारी गराएपछि फ्यानहरुले प्रार्थना गर्न थालेका हुन् ।
अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै कलकत्ता, मुम्बई तथा मध्यप्रदेशमा यज्ञको आयोजना गरिएको छ । स्वास्थ्यलाभको कामना गर्ने सबै फ्यानहरुलाई अमताभले धन्यवाद दिएका छन् । उनले ट्विटरमा लेखेका छन् - ‘तपाईंको, चिन्ता, प्राथना र अभिषेक, एैश्वर्या, आराध्या र मेरा लागि तपाईंको शुभेच्छाप्रति म आभारी छु, सबैलाई धन्यवाद ।’
यसअघि पनि अमिताभ स्वास्थ्य अवस्था खराब भएपछि तीन दिन अस्पतालमा भर्ना भएका थिए । अमिताभ बच्चन लामो समयदेखि स्वास्थ्य समस्या झेली रहेका छन् ।
अमिताभलाई गम्भीर रोगहरूको संक्रमण छ । उनको कलेजो ७५ प्रतिशत काम नगर्ने भएको छ । उनि २५ प्रतिशत कलेजोले जीवित छन् । योभन्दा पहिले उनले मृत्युलाई जितेर नयाँ जीवन प्राप्त गरेका थिए । त्यसैले अगस्त २ लाई उनको दोस्रो जन्मदिन मानिन्छ। अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले पनि एकपटक भनेका थिए कि २ अगस्तमा डाक्टरहरूले बुवालाई नयाँ जीवन दिए, त्यसैले यो दिन उनको दोस्रो जन्मदिन हो।
सन् १९८२ मा कुल्लीको सुटिङ्गको बेला फिल्मको सेटमा अमिताभसँग एउटा घटना घटेको थियो जसले उनको ज्यान झन्डै गुमेको थियो । बंगलोरमा फिल्मको सुटिङ्ग भइरहेको थियो। सेटमा फाइट सिनको बेला खलनायकको दमदार मुक्का अमिताभको पेटमा लाग्यो र उनि स्टिलको टेबलमा बजारिए । यसबाट उनको पेटमा गहिरो चोट लागेको थियो ।
यस घटनापछि, अमिताभको अपरेसन करीव ७२ घण्टासम्म पनि गरिएको थिएन, जसको कारण उनीको समस्या अझ बढ्यो। जब अमिताभलाई अस्पतालमा भर्ना गरियो, तब उनी जीवन र मृत्युसँग संघर्ष गरिरहेका थिए ।
यस अवधिमा, अमिताभ बच्चनले अस्पतालमा लामो लडाई लडे । उनलाई सो समय डाक्टरहरूले क्लीनिकली डेड घोषित गरेका थिए । तर अमिताभले अस्पतालमा लगभग २ महिना बिताएपछि ठिक भए । संसारभरका प्रशंसकहरूले धार्मिक स्थालहरूमा पुगेर उनको लागि प्रार्थना गरेका थिए ।
अमिताभ बच्चन स्वस्थ भएर घर फर्किदा दर्शकहरु सडकमा थिए । मुम्बईका सडकहरू उनका पोस्टरहरूले भरिएको थियो । उनका लागि मानिसहरूले पूजा हवन समेत गराएका थिए। मानिसहरूको भीड उनको घरमा उनलाई पर्खिरहेका थिए। घर पुगेपछि उनले हात हल्लाएर आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए ।
हालै अमिताभ बच्चन आफैले कलेजोको ७५ प्रतिशत प्रतिशत बिग्रेको र २५ प्रतिशत कलेजोको साथ मात्र जीवन बिताइरहेको बताएका थिए ।
एक कार्यक्रमका क्रममा अमिताभ बच्चनले भनेका थिए,' मलाई यो भन्नमा कुनै आपत्ति छैन कि म क्षयरोग (टीबी) र हेपेटाइटिस बीबाट पीडित छु । मलाई यो पनि थाहा भएन लगभग ८ बर्षदेखि मलाई क्षयरोग लागेको छ।'