काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले गोल्डेन चान्स गुमाएको छ । युनाईटेडले लिगको तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको हो ।
सोमबार राति घरेलु मैदानमा साउथह्याम्पटनसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेपछि युनाईटेडले उक्त अवसर खेर फालेको हो ।
पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा युनाईटेडले बराबरी खेल्दै अंक बाँड्न परेको हो । चेल्सी र लेस्टर सिटीले पछिल्लो समय अंक गुमाईरहेको अवस्थामा युनाईटेडलाई च्याम्पियन्स लिग छनोटको दौडमा अघि बढ्ने अवसर थियो । तर युनाईटेडले शीर्ष तीनमा उक्लिने अवसर गुमाएको छ ।
स्टुआर्ट आर्मस्ट्रङको गोलमा साउथह्याम्पटले खेलमा सुरुवाती अग्रता बनाएको थियो । मार्कुस रासफोर्डले २० औं मिनेटमा खेल बराबरीमा फर्काए ।
त्यसको तीन मिनेटपछि एन्थोनी मार्टियलले गोल गर्दै घरेलु टोली युनाईटेडलाई खेलमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफको ईन्जुरी समयमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिकेल ओबाफिमीले गोल गर्दै साउथह्याम्पटनलाई अंक दिलाउन सफल रहे ।
यो खेलपछि पाँचौं स्थानको युनाईटेडले ५९ अंक जोडेको छ । समान अंक भएपनि लेस्टर गोल अन्तरका आधारमा चौथो स्थानमा छ । ६० अंकको चेल्सी तेस्रो स्थानमा छ ।
अब मात्र तीन चरणका खेल खेल्नुछ । युनाईटेडले बराबरी खेलेपछि तेस्रो स्थानमा रहने टिमको होड अझ रोचक बनेको छ ।
लिभरपुल ९३ अंकसहित च्याम्पियन बनिसकेको छ । ७२ अंकको म्यान्चेष्टर सिटीले दोस्रो स्थान सुरक्षित गरिसकेको छ ।