काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे गरेको टिप्पणीबारे स्पष्टीकरण दिएको छ।
मङ्गलवार साँझ प्रकाशित विज्ञप्तिमा उसले प्रधानमन्त्री ओलीको भनाइ ‘कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको’ र ‘कसैको भावनामा आघात पुर्याउने उद्देश्यले नगरिएको’ मा जोड दिएको छ।
सोमवार आयोजित एउटा कार्यक्रममा बोल्दै ओलीले रामको वास्तविक जन्मभूमि अयोध्या नेपालमै भएको र राम नेपाली राजकुमार भएको टिप्पणी गरेका थिए।
उनको उक्त भनाइपछि नेपाल र भारतमा तरङ्ग उत्पन्न भएको छ । ‘अयोध्या नेपालमा रहेको’ भन्ने प्रधानमन्त्री ओलीको दाबीको भारतभर त चर्को विरोध भएको छ नै नेपालमा पनि सत्तारुढ दलले समेत पनि आक्रोश पोखेको छ ।
सम्बन्ध बिगार्ने बोली आएको भन्दै दलहरु असन्तुष्ट बनेका हुन् । तथ्य नहेरी जे पायो त्यही बोल्नु उचित नहुने पनि उनीहरुले भनेका छन् ।
उनकै दलका नेता वामदेव गौतमले प्रधानमन्त्रीले आफ्नो मन्तव्य फिर्ता लिनुपर्ने र जनतासमक्ष आत्मालोचना धारणा व्यक्त गरेका थिए।