काठमाडौं । अमेरिकाले चीनमाथि कडा नीति अबलम्बन गरेको छ । उक्त क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन् ।
उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने क्रममा पछिल्लो कदम चालेको बीबीसीले लेखेको छ ।
वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्याइने बनाए ।
‘हङकङलाई अब मुख्यभूमि चीन जसरी नै व्यवहार गरिने पनि ट्रम्पले बताएका छन् । ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको बताएका छन् ।
जुलाई महिनाको सुरुमा अमेरिकी संसद्बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै बैंकहरुमाथि प्रतिबन्ध लगाउने अधिकार दिने उल्लेख छ ।
पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो। मङ्गलबार ट्रम्पले भने, ‘अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन।’
सोही पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो प्रशासनले असमान व्यापार, अभ्यास र मानव अधिकारजस्ता विषयमा चीनविरूद्ध कडा कदमहरू चालेको बताएका छन् ।
उनले चीनले विश्वमा कोरोनाभाइरस छाडेको आरोप समेत लगाए ।