काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यकर्मीहरुको मृत्यु उल्लेख्य मात्रामा भएको छ । कोरोना भाइरस संक्रमितसंग अगाडि रहेर उपचारमा संलग्न हुनुपर्ने भएकाले सबैभन्दा पहिले स्वास्थ्यकर्मीलाई नै रोग सर्ने गर्छ ।
विश्वभर कम्तीमा ९० हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको तथ्यांक बाहिर आएको छ । विश्वमा बुधबार बिहानसम्म १ करोड ३५ लाखको हाराहारीमा संक्रमित हुँदा ९० हजार स्वास्थ्यकर्मी नै परेका हुन् ।
त्यसैगरी ५ लाख ८१ हजार २२१ भन्दा बढीको ज्यान कोरोनाका कारण गएकामा एम्नेस्टी इन्टरनेशनलका अनुसार ३ हजार भन्दा बढी स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
एम्नेस्टीले असुरक्षित माहोलमा काम गर्नु, लामो समयसम्म काम गर्नु, कम तलब, केही देशमा स्वास्थ्यकर्मीमाथि हुने हिंसा नै प्रमुख कारण हो ।
सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) को एक रिपोर्टका अनुसार अमेरिकामा हरेक १० जनामध्ये एक स्वास्थ्यकर्मी कोरोना संक्रमणको शिकार भएका छन् ।
कहाँ कतिको गयो ज्यान ?
बेलायतको संस्था एम्नेस्टी इन्टरनेशनलले ७९ देशमा गएको सर्वेक्षणको आधारमा तयार गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी रुसमा ५४५ जना, बेलायतमा ५४० जना र अमेरिकामा ५०७ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
ब्रजिलमा ३५१, मेक्सिकोमा २४८, इटलीमा १८८, इरानमा १११, भारतमा ९३, ईरानमा ९१, इक्वेडरमा ८२ जनाको ज्यान गएको छ ।
इन्डियन मेडिकल एसोसिएसनका अनुसार भारतमा ९३ जनाको ज्यान गएको छ भने १ हजार २७९ स्वास्थ्यकर्मीलाई कोरोना लागेको छ ।
जसमा ७७१ जनाको उमेर ३५ वर्षभन्दा कम रहेको छ भने २४७ को उमेर ३५ वर्षभन्दा माथि रहेको छ । त्यसमा २६१ डाक्टरको उमेर ५० भन्दा माथि छ ।
नेपालमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भए पनि कोरोनाबाट मृत्यु भने भएको छैन । संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको संख्या बढी नै भए पनि उनीहरुलाई निको भएको छ ।
नेपालमा राम्रो पीपीईकै अभावका कारण कोरोना फैलिएको स्वास्थ्यकर्मीको दावी छ ।