प्युठान । घरको एक्लो छोरो । उज्ज्वल भविष्यको खोजीमा रहेकी एक सानी छोरी । साथमा भर्खर लाउँलाउँ र खाउँखाउँ उमेरकी श्रीमती । त्यति मात्रै होइन वृद्ध बुबाआमाको संसार उजाडिएको दिन ।
घर परिवारको अवस्था हेर्दा लाग्छ भर्खरै आएको बाढीले सबै सर्वश्व लुटेर लग्यो त्यसमाथि बुबा आमाको छोरा । सानी छोरीको बुबा र प्यारी जीवनसंगिनीको श्रीमान पनि ।
उनले धेरै नदी तरे । नदीका छालहरु पन्छाएर तरे । तर यसपटकको नदी न त उनी तर्न सके न त परिवारलाई किनार पारी पुर्याउन नै सके ।
धेरै जंघार र नदी तर्ने २७ वर्षीय दीपकले कहिले आफ्ना नेताको निर्देशनमा मान्छेमा टाउका काट्न हिँडे । कहिले फरक राजनैतिक आस्था राख्नेहरुलाई नेताकै निर्देशनमा खुकुरी हान्दै हिँडे ।
कहिले साथीभाइको लागि ज्यान बाजी राखेर ‘ग्याङफाइट’ खेले । तर अहिले दीपक नदीको भूमरीमा पर्दा उसको साथमा कोही भएन । उसको छोरी टुहुरी भई । श्रीमती विधवा र बुबाआमाको काख रित्तियो ।
सोमबार दिउँसो घर नजिक घाटमा दीपकको शव जलाउन लाग्दा पीडित परिवारले सोच्दै थियो होला अरु जस्तै सामान्य जीवन जिउने र सहज बाटोमा हिँड्ने गरेको भए दीपक बाँच्थे होला ।
तर दीपक थापाका अग्रज र उनलाई प्रयोग गर्ने नेताले दीपकलाई कहिले खुकुरी हान्न पठाए, कहिले अरुको टाउका काट्न पठाए त कहिले ‘ग्याङफाइट’ खेल्न पठाए ।
फलस्वरुपः यसै हप्ता जुम्रिमा भएको एक झगडाको कारण उनको ज्यान गयो । दीपक जिवित हुँदासम्म न त उनलाई उनका नेताले राम्रो काममा लगाए न त परिवारलाई हेरे । तर उनको मृत्यु पछि पनि दीपकको मृत्यु खोलाले बगाएर भएको भनी मुचुल्का उठाउन सहयोग गरे ।
माफ गर्नु होला खासमा पूर्व एमालेमा नेता तथा गुण्डा नाइके ज्यू आज दीपकको मृत्यु खोला तर्दा होइन तपाईको निर्देशन र आदेश मान्दा मान्दै एक खुङ्खार गुण्डा बन्न खोज्दा ज्यान गयो ।
यसको जिम्मेवारी तपाईंहरुले लिनु पर्छ । दीपकको मुत्यु केबल मुत्यु होइन यो त ७–८ बर्ष पहिलेदेखि तपाईंहरुको निर्देशन र आदेश मान्दाको प्रतिफल हो । अनि एक युवाको ज्यान जाँदै गर्दा एक छोरीको बुबाको हत्या हुँदै गर्दा, श्रीमतीको सिन्दूर पुछिँदै गर्दा र बुबाआमाको कोख रित्तिदै गर्दा यो नदीले बगाएको घटना भनी चुपचाप बस्ने सुरक्षा निकायका प्रमुख तथा डिएसपी र सिडिओ साप के तपाईं पनि यो घटनाको साक्षी बन्न खोज्नु भएको हो ?
बुबाआमाको कोख त रित्तियो । श्रीमतीको सिन्दूर त पुछियो तर ती कलिली छोरीको अनुहारमा हेर्नुस र यो सुनियोजित अपराधमा संलग्नलाई सजाय दिनुस् । यो घटना भवितव्य घटना होला तर दीपकलाई टाउका काट्न पठाउने, मान्छे मार्न पठाउने र ग्याङफाइट खेल्न पठाउने ती सबै नेताज्युहरु दीपकका हत्यारा हुन् ।
यसको जलन्त उदाहरण सोमबार तपाईंहरुको र्याली र मुठ्ठी कस्दै पार्टीको झण्डा ओढाएर सलामी ठोक्नु पनि एक प्रमाण हो ।
अब कम्तीमा न्याय मरेको छैन भन्ने प्रमाण दिन भए पनि तपाईं माथिको दवाव थाति राख्दै दीपकको परिवारलाई न्याय दिनुस् । अर्कोतर्फ हत्या प्रयास, बलात्कार तथा जघन्य अपराधमा संलग्न दीपक जस्तै अर्को युवा बसन्त चन्दलाई कानुनी सजाय दिई असल नागरिक बनाउनुस् ।
भोलि उसको पनि दीपकको जस्तै दुःखद निधन भन्ने सुन्न नपरोस् । सानातिना घटनामा राजनैनिक दलले छुटाउने र त्यसको साक्षी सुरक्षा निकायका प्रमुख बस्ने घटनाले युवाहरु अपराधी बन्दै छन् ।
यसको जिम्मेवारी तपाईंहरुको पनि छ । बाँकी तपाईको जो इच्छा । साथमा घटनामा संलग्नहरुको खोजी गरी कानुनी राज्यको आभाष दिलाउन र पीडितलाई न्याय तथा दोषीलाई कारवाहीको लागि अनुरोध छ ।