arrow

सांसद आलेलाई कारबाहीको माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र        

logo
प्रकाश बम,
प्रकाशित २०७७ साउन १ बिहिबार
pmlai-gyapan.jpg

कैलाली । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाहीको माग गरिएको छ । 

वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमतिता छानबिन गर्न गठित सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिका सदस्य एवं सांसद प्रेम आलेलाई कारबाही गर्न कैलालीका सामुदायिक वन उपभोक्ता समूहहरुले माग गरेका हुन् ।

डिभिजन वन कार्यालय पहलमानपुर मातहतका २९ र धनगढी डिभिजन अन्तर्गतका ३९ सामुदायिक वनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै सांसद आलेलाई कारबाही र नयाँ उपसिमिति बनाएर छानबिन गर्न माग गरेका छन् ।

सांसद आलेले स्थलगत अध्ययनको क्रममा ऐश्वर्य सामुदायिक वन पथरियाका अध्यक्ष केशव शाही, जनकल्याण सामुदायिक वनका अध्यक्ष जय गिरी लगायत वनका पदाधिकारीलाई धम्काउने र मानमर्दन हुने गरी अपशब्द बोलेकाले कारबाहीको माग भएको हो ।

दिगो वन व्यवस्थापनप्रति नकारात्मक सोच भएका फेकोफन लगायतका केही व्यक्तिहरुका कुरा सुनेर गुन्डागर्दी शैलीमा सामुदायिक वनभित्र पसेर संरक्षणमा जुटेका व्यक्ति र समूहका पदाधिकारीहरुको मनोबल कमजोर पार्ने गरी धम्काउने र हप्काउने कार्य गरेकोले सांसद आलेलाई कारबही गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

यसैबीच सामुदायिक वनहरुले सांसद आले सदस्य रहेको उपसमिति मान्य नहुने बताएका छन् । उनीहरुले सासंद आलेले आफ्ना नजिकका मानिसहरुलाई आफूलाई भावी वन मन्त्रीको रुपमा चिनाउन लगाएर उपभोक्ताका पदाधिकारीलाई प्रभावमा पारी आर्थिक लाभ लिन चलखेलसमेत गरेको आरोप लगाएका छन् ।

उपसमिति सदस्य सांसद आलेले अनुगमन गर्दा आफ्नो नजिकका पार्टी कार्यकर्ता प्रयोग गरेको, घूससहित पक्राउ परेका डोटीका पूर्व सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई विज्ञका रुपमा प्रयोग गरिएको र बाहुबली शैलीमा आएको हुँदा उपसमितिले निष्पक्ष छानबिन गर्न नसक्ने ज्ञापन पत्रमा उल्लेख छ ।



लोकप्रिय समाचार
नयाँ