सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा आएको बाढीपहिराबाट घर भत्किएकाहरुको घर बनाउन पहल गरिदिने भएका छन् । गत असार २५ गते आएको बाढीपहिराका कारण विस्थापितले सुरक्षित ठाउँमा जग्गा खोजेका अवस्थामा घर बनाउन पूर्वमन्त्री बस्नेतले समन्वय गरेर घर निर्माण गर्न पहल गर्ने भएका हुन् ।
विस्थापित र घरबारविहीनको वडा कार्यालयले तथ्याङ्क सङ्कलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले बुधबार बताए । भोटेकोशी गाउँपालिकाका ८० घरपरिवार तातोपानी सुख्खा बन्दरगाहमा अस्थायीरुपमा बसिरहेका छन् ।
कांग्रेस वाग्मती संसदीय दलको सहयोग
कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई रु पाँच लाख सहयोग गरेको छ । वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका घरवारविहीन ८० परिवारलाई नगद राहत वितरण गरेको हो । कांग्रेसले प्रतिपरिवार रु पाँच हजारका दरले रु चार लाख प्रभावित क्षेत्रमा वितरण गरेको छ ।
त्यस्तै काठमाडौँको ह्याम्स अस्पताल पुगेर तीन मृतकका परिवारलाई रु १० हजारका दरले र सात घाइतेलाई रु १० हजारका दरले रु एक लाख वितरण गरिएको संसदीय दलका सचिव निमा लामाले बताए ।
शव फेला
भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा गए राति आएको पहिराले दुई घर पुरिएको घटनामा एक जनाको शव भेटिएको छ । प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ३५ वर्षीय साङ्बु शेर्पाको शव भेटिएको हो । गए राति आएको पहिराले दुई घरमध्ये एक पूर्ण तथा अर्काे आंशिक क्षतिग्रस्त भएको छ । पूर्णरुपमा क्षति भएको घरका पाँच महिलालार्ई पहिराले लगेको हो । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ ।