जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई धनुषाको जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवारलाई बिहीबार पाँच लाखको चेक हस्तान्तरण गरेका छन्।
धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ९ गोठ कोयलपुर स्थित बिहीबार यादबको घर पुगेका मुख्यमन्त्री राउतले मृतककी श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्दै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गरएको बताए। उक्त अवसरमा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायाधिब्क्ता दीपेन्द्र झा सहितको उपस्थिति रहेका थिए ।
लामो समयदेखि लकडाउनका कारण भारतमा फँसेका सहिद नगरपालिका वडा नम्बर ९का ३० वर्षीय विरेन्द्र मरवैता यादवको भोकका कारण मृत्यु भएको थियो ।लकडाउनमा भारतबाट ६ दिन खाना नखाइ भोकै पेट जेष्ठ १४ गते बुधबार धनुषाको जटही नाकामा उनको मृत्यु भएको थियो ।
भारतबाट हिँडदै आएका उनी ६ दिनदेखि खाना खान पाएका थिएनन् । अत्यधिक भोककाकारण जटही नाकामा सुरक्षाकर्मीले उनलाई खाना खुवाएको तर केही बेरमा उल्टी गरेर उनको मृत्यु भएको थियो।