arrow

१० करोड नाफाबाट एकै वर्षमा १९ करोड घाटामा गयो उदयपुर सिमेन्ट

सुरेन्द्र पौडेलले उकासेको उदयपुर सिमेन्ट उनले छोडेसगै खस्कियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १ बिहिबार
udayapur-cement-industry.jpg

काठमाडौं। आर्थिक वर्ष २०७४/०७५ मा १० करोड ४१ लाख रुपैयाँ नाफामा रहेको उदयरपुर सिमेन्ट उद्योग एकै वर्षमा करिब दोब्बरले नोक्सानमा गएको छ। महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को लेखापरिक्षण प्रतिवेदन अनुसार राम्रो व्यवस्थापक नहुँदा आव २०७५/०७६मा १९ करोड ६२ लाख रुपैयाँ नोक्सानमा पुगेको हो।

सिमेन्ट उत्पादन गरी विक्रीको तुलनामा उद्योगको खर्च बढेका कारण नोक्सानमा गएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७४/०७५ मा सिमेन्ट उद्योगको प्रमुख  सुरेन्द्र पौडेल त्यहाँ हुँदा कुशल व्यवस्थापन गरेका कारण उद्योग धेरै समयपछि नाफामा गएको थियो। उनी २०७५ पुस महिनामा नेपाल आयल निगमको प्रमुखको रुपमा काठमाडौं आएसँगै त्यसपछिको नेतृत्वले उचित व्यवस्थापन गर्न नसक्दा सिमेन्ट उद्योग एकै वर्षमा दोब्बरले नोक्सानीमा गएको तथ्याङले देखाएको छ।

उदयपुर सिमेन्ट उद्योगले चुनढुङ्गा, फलामे धाउ, जिप्सन लगायतका कच्चा पदार्थ उत्पादन गरी ओपसी सिमेन्ट उत्पादन गर्दै आएको छ। क्षमता भन्दा आधा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले पुराना मेसिन तथा औजारहरु मर्मत सम्भार गर्नुपर्ने बाहानामा उत्पादन कार्यमा नै लामो समयसम्म रोक लगाउने गरेको छ। उदयपुर सिमेन्ट उद्योगको नेतृत्वले निजी सिमेन्ट उद्योगको प्रभावमा परेर मेसिनरी वस्तु विग्रेको बहानामा क्षमता भन्दा कम उत्पादन गरेका कतिपयले आरोप लगाउने गरेका छन्।

हाल उद्योगमा करिब ४ सय जना कर्मचारी रहेकाले आगामी दिनमा नयाँ उपकरण खरिद गरेर उद्योगमा उपलब्ध सबै पूर्वाधारको उचित प्रयोग गर्दै बजार माग अनुसार सिमेन्ट उत्पादन गर्नु पर्ने महालेखा परिक्षक कार्यालयको प्रतिवेदनले औंल्याएको छ।



लोकप्रिय समाचार
नयाँ