बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ फैलिँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ ।
बुधबार र बिहिबार नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पुर्याएपछि सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगेको छ ।
भारतको श्रावस्ती जिल्लाबाट प्रवेश गरेका करीब पाँच लाख सलहले बुधबार नरैनापुर र डुडुवामा झण्डै २० प्रतिशत क्षति पुर्याएको बताइएको छ । गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले डुडुवाबासीले परम्परागत रुपमा थाल, टिन र जर्किन ठटाएर तथा पटाका पड्काएर कीरा भगाएको बताए ।
सलह भगाउन कृषि ज्ञान केन्द्रले विषादीसहित प्राविधिक सहयोग पनि गरेको जनाइएको छ । बिहिबार बैजनाथ गाउँपालिका पुगेको सलहले जिल्लामा रहुञ्जेल सरदर ३० प्रतिशत किसानको बालीनाली नष्ट गर्ने आंकलन गरिएको केन्द्रका प्रमुख ढकालले बताए ।