arrow

ओली कुर्सीको आयु बढाउँदै, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्मको लहरो

असार १६ पछि पहिलो पटक बस्दै स्थायी कमिटी बैठक

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
ncp-sthi-committee.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र कुर्सी मोहको राजनीतिले गर्दा नेताहरुबीचको विश्वास घट्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट आफू पछाडि नहट्ने सके जे गरे पनि हुन्छ भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरुलाई खुलेआम भनेपछि फेरि समाधान हुने देखिएको आन्तरिक किचलो बढ्ने निश्चित भएको छ ।

प्रचण्ड तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमका साथै सचिवालय देखि स्थायी कमिटीका धेरैजसो नेताले ओलीको राजीनामा मागेपछि अप्ठेरोमा परेका ओली आफ्नो कुर्सीको आयु लम्ब्याउने योजनामा लागेका छन् । 

उनले स्थायी कमिटीमात्र नभई अब केन्द्रीय कमिटीको बैठक पनि बोलाउन राजी भएका छन् । स्थायी कमिटीबाटै समस्या सुल्झिने भन्दै प्रमाझवा (प्रचण्ड, माधव, झलनाथ र वामदेव) ले स्थायी कमिटी बोलाउन माग गरे पनि ओली एक कदम अगाडि बढेको बताइन्छ ।

दुई मध्ये एक पद छाडेर भए पनि समस्याको समाधानतिर प्रमाझवा लागिरहेका बेलामा ओलीले दुवै पद नछाड्ने जे सक्छौ त्यही गर भन्दै रुखो जवाफ फर्काएपछि बिहीबारको बैठकबाट प्रचण्ड र माधव निराश भएर बालुवाटरबाट फर्केको बताइन्छ । 

नेताहरु शुक्रबार स्थायी कमिटी भने बस्ने सहमित गरेर फर्केका हुन् । ओली टसकोमस नभएपछि अब स्थायी कमिटी टुंगाएर केन्द्रीय कमिटीतिर लाग्नेतर्फ अगाडि बढेका छन् । 

शुक्रबार बोल्न बाँकी स्थायी कमिटी सदस्यले बोलेर बैठक टुंगाउनेतिर लाग्नेछन् । केन्द्रीय कमिटीको बैठकको मिति शुक्रबार तय हुन सक्ने बताइएको छ । 

यसअघि लामो समयदेखि ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भए पनि समस्या समाधान नभएपछि नेकपाको विवाद केन्द्रीय कमिटीमा जाने भएको हो । 

असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठक पटक पटक अवरुद्ध हुँदै आएको छ । बैठकमा एकाएक ओलीको कामप्रति रुष्ट हुँदै आएकाहरुले दुवै पदबाट राजीनामा मागेपछि ओलीले होसहवास गुमाएर अन्टसन्ट बोल्दै आएको आरोप पनि लाग्दै आएको छ । 

उनले गत असार १४ गते आफूलाई सत्ताबाट हटाउन भारत लागेको र नेकपाका बाँकी शीर्ष नेताहरु भारतीय दलाल भएको आरोप लगाएका थिए । खुलेआम दुनियाँले थाहा पाउने गरी आफ्नै दलका शीर्ष नेताहरुलाई त्यो आरोप लगाउँदै आफूमात्र राष्ट्रवादी भएको भनेपछि उनीविरुद्ध सबै खनिएका हुन् । 

तर कसैले पनि केही गर्न सकेका छैनन् । उनकै यही अभिव्यक्तिका कारण असार १६ गतेदेखि स्थायी कमिटी बैठकसमेत बस्न सकेको छैन ।

पछिल्लोपटक असार २६ गतेलाई तय भए पनि बाढीपहिरोको कारण जनाउँदै साउन २ गतेसम्म बैठक स्थगित गरिएको थियो । 

अब कुनै बहाना नचलेपछि स्थायी कमिटी बोलाइएको छ । यसलाई धेरै चल्न नदिई रोकेर केन्द्रीय कमिटीमा जाने र आफ्नो आयु लम्ब्याउने योजनामा ओली रहेका छन् ।

केन्द्रीय कमिटीका सदस्यले विचार राख्दा नै लामो समय लाग्ने भएकाले ओलीले नयाँ उपाय रचेको राजनीतिक विज्ञहरुको अड्कल छ । 



लोकप्रिय समाचार
नयाँ