arrow

ओली-प्रचण्डबीच सहमति जुटाउने प्रयास, बैठक स्थगन

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
oli-dahal-bhet-baluwa-@@.jpg.jpeg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको छ । शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक सरेको नेकपा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले बताए। 

नेकपाको विवाद मिलाउनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति हुन नसकेपछि पटकपटक बैठक स्थगन हुँदै आएको छ ।

 यसअघि गत असार २६ गते डाकिएको बैठक देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिँदै शुक्रबारसम्मका लागि बैठक स्थगन गरिएको सूचना पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत दिएका थिए । 

आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ भने पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दबाब दिँदै आएका छन् । 

यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । 

यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ । संसद् नभएको स्थितिमा राजनीनितक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्यूँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शबिना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन्। 

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भएपनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए । 

स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची छन् ।



लोकप्रिय समाचार
नयाँ