पाँचथर। निरन्तर वर्षातको कारण पाँचथरको मिक्लाजङ गाउँपालिका वडा नं. १ सेवा स्थित कोलबुङ बस्तीमा जमिन नै भासिएपछि अहिले कोलबुङ बस्तीनै जोखिममा परेको छ ।
वर्षातको कारण जमिन भासिएपछि कतिपय स्थानीयहरु आफनो बर्षौंदेखि बस्दै आएको थातथलो छोडेर विस्थापीत भई अन्यन्त्र हिड्न बाध्य छन् ।
स्थानीय दिपेन्द्र कुमार आङ्देम्बे,खड्ग बहादुर आङ्देम्बे,साहाबिर आङ्देम्बे,पदमबहादुर आङ्देम्बे,कृष्ण कुमार आङ्देम्बे ,प्रकाश आङ्देम्बे र नरेन्द्र आङ्देम्बे लगायतको ७ घर जमिन फाँटेर र भासिएपछि परिवार बिस्थापित भएका हुन् ।
ती परिवारलाई तत्काल अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको स्थानीय गंगा आङदेम्बेले बताए ।
यसका लागि स्थानीय सरकार,वडा तथा गाउँपालिका,दैविक प्रकोप उद्धार समितीले स्थलगत निरीक्षण गरी आफूहरुलाई सुरक्षित स्थानतर्फ बसोबासका निम्ति सहयोग गर्नुपर्ने स्थानीय शिशिर आङदेम्बेले बताए ।
यस्तै निरन्तर वर्षाद कायम रहेमा कोलबुङ टोलवस्ती नै भासिने खतरा बढेको स्थानीय दुर्गा आङदेम्बेले बताए । यस विषयमा गाउँपालिका र इलाका प्रहरी कार्यालय रवीमा पनि जानकारी दिएको मिक्लाजुङ १ का वडाअध्यक्ष विष्णु कुमार राईले बताए ।