बेलबारी। मोरङको केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट प्रमुख कार्की घाइते भएका छन् । घाइते कार्कीको विराटनगर स्थित नोवल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिहान कार्यालय प्रवेश गर्ने बितिकै प्रमुख कार्कीमाथि केराबारी १० का भवन ठकुरीले खुकुरी प्रहार गरेका हुन् । उपप्रमुखको कार्यकक्षमा प्रवेश गरेर आफ्नो कार्यकक्ष तर्फ जाँदैगर्दा ठकुरीले सुरक्षा गार्डको खुकुरी खोसेर प्रमुख कार्कीको टाउकोमा प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट प्रमुख कार्कीको टाउकोमा दुई ठाउँमा चोट लागेको छ । उनको पेटमा छुरी पनि हानिएको छ । साथै उनको हातमा पनि चोट लागेको स्थानीय प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनालगतै खुकुरी प्रहार गर्ने ठकुरीलाई पक्राउ गरेको छ । ठकुरी ठेक्कापट्टामा संलग्न व्यक्ति हुन् ।