१५ औं योजना सफल पार्न उर्जामा कम्तीमा १० प्रतिशत कर्जा बैकहरुले लगानी गर्नु पर्ने
प्रकाशित २०७७ साउन २ शुक्रबार
118
Shares
काठमाडौं । वाण्ज्यि बैंकहरुले आफ्नो कुल कर्जाको कम्तीमा १० प्रतिशत कर्जा उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने मौदिक नीतिमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै चालु आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको कम्तीमा १० प्रतिशत कर्जा उर्जा क्षेत्रमा लगानी गर्नु पर्ने व्यवस्था गरिने बताएका हुन् ।
‘उर्जामा आत्मनिर्भरता प्रवद्धन गर्न र नेपाल सरकारले १५ औं योजनामा राखेको ५ हजार मेगावाट जलविद्युत क्षेत्रलाई सहयोग पुर्याउन वाणिज्य बैंकहरुले २०७८ असार मसान्तसम्म आफ्नो न्युनतम लगानीको १० प्रतिशत कर्जा उर्जा क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउनु पर्ने छ’ मौद्रिक नीति सार्वजनिक गर्दै अधिकारीले भने, ‘उर्जा क्षेत्रमा लगानीको अनुभव हासिल गरेका वाणिज्य बैंकहरुले उर्जा ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने छ ।’
त्यस्तै राष्ट्र बैंकले उर्जा क्षेत्रमा कर्जा न्युन भएको वित्तीय संस्थालाई उर्जा ऋण पत्रमार्फत न्युनतम कर्जा अनुपात कायम गर्न सहयोग पुग्ने पनि बताएको छ ।