नयाँदिल्ली। प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेको टिप्पणी अहिले भारतमा मजाकको विषय बनेको छ । प्रधानमन्त्री ओलीले राम जन्मिएको अयोध्या चितवनको ठोरीमा रहेको बिबादीत तर्क गरेपछि कतिपयले मजाकमा लिएका छन् भने ओलीको विगतका यस्तै हल्का टिप्पणीबारे थाहा नपाएकाहरु भने गम्भिर पनि बनेका छन् । प्रधानमन्त्री ओलीको मजाक लाग्ने यस्तै अभिव्यक्तिले दुई देशबीच जनस्तरको सम्वन्धमा भने समस्या सिर्जना गर्न थालेको छ । हालै वाराणसीमा एक नेपाली युवालाई कपाल खौरिएर स्थानिय केहि व्यक्तिहरुले गरेको अभद्र व्यवहारले पनि यसलाई दर्शाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली २०७५ वैशाख २८ गते उस्तै कपडामा सजिएर राम भारतको अयोध्यामा जन्मेको र सीता नेपालमा जन्मेको मन्तव्य दिएका मात्र थिएनन ओली र समकक्षी मोदीले ‘जनकपुर–अयोध्यामैत्री बस सेवा’ सुरुवात समेत गरेका थिए । तर अहिले ओली आफ्नै विगतको कामसँग विरोधाभाष देखिने गरि वक्तव्य दिएपछि भारतको राजनीतिक वृत्तमा भने यसलाई गम्भिर रुपमा समेत लिइएको छ । सत्तारुढ भारतीय जनता पार्टीले मात्र होइन विपक्षी कांग्रेस आइले पनि प्रधानमन्त्री ओलीको वक्तव्यको विरोध गर्यो ।
प्रधानमन्त्री ओलीको पटक पटकको विवादित वक्तव्यबाजीले नेपाल र भारतबीच शताब्दीऔंदेखिको धार्मिक र सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत विवादित बनाइदिएको छ । उनको पटक पटकको अभिव्यक्तिको नेपालभित्रका बौद्धिक समुदाय, राजनीतिकर्मी, पत्रकार, तथा सामाजिक अगुवाहरुले सामाजिक सञ्जालमार्फत बिरोध गरेका छन् । भारतमा भने ओलीको अप्रासंगिक र अनुपयुक्त अभिव्यक्तिहरुलाई कार्टुन तथा मजाकको बिषय बनाएर ट्रोल हुन थालेको छ।
प्रधानमन्त्री ओलीले यसअघि पनि संसदको रोस्टमबाट प्रधानमन्त्री ओलीले भारतीय नीति “सत्यमेव जयते हो की सिंहमेव जयते हो” भनेर प्रश्न गरेका थिए भने संसदमा चीनको भन्दा भारतबाट आएको कोरोनाभाइरस खतरनाक भन्ने समेत दावी गर्न भ्याए।
गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट सत्ताच्युत गर्न लागेका र त्यसमा नेपालकै नेताहरु समेत संलग्नता रहेको बताए । राष्ट्रपतिलाई महाभियोग लगाउने तयारी भैरहेको छ भने हल्का टिप्पणी पनि गरे ।
यतिमात्र होइन नेपालीको इम्युनिटी पावर धेरै छ भन्दै ओलीले कोरोना संक्रमण बढिरहेका बेला संसद्मा कोरोना अदुवा र बेसार पानीले निको हुन्छ भन्ने अप्रमाणित कुरा गरेर आफ्नै वजन घटाए।
आदिकवि भानुभक्तको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा भारतको अयोध्या नक्कली भएको दावी ठोके। भारतले नेपालको संस्कृति माथि अतिक्रमण गरेको बिबादास्पद तर्क अघि सार्दै भारतीय जनतालाई समेत ओलीले तरङ्गीत बनाइदिए ।
भारतसँगको जनस्तरको सम्बन्धमा समेत एकपछि अर्को प्रहार गर्दै आएका ओलीले नेपाललाई रुचाउने भारतीय जनतासमेत उत्तेजित बनाउने काम गरिरहेबाट भारतीय जनतामा यसअघी कहिल्यै नदेखिएको नेपाल विरोधी भावना बढ्दै गएको छ। यस्ता अभिव्यक्तिले राजनीतिक ईख नेपालप्रतिको गलत सोच भारतको जनस्तरमा समेत फैलिने खतरा बढेको छ । देशको प्रधानमन्त्रीको यस्तो तथ्यहीन आरोपहरुले उनको विश्वसनीयता मात्र गुमेको छैन नेपालीप्रतिको सेन्टिमेन्टमै प्रहार हुने खतरा बढेको छ।