पूर्व गभर्नर क्षेत्री भन्छन् – ‘मौद्रिक नीति ठिक छ, प्रभावितको वर्गीकरण कसले गर्ने हो?’
प्रकाशित २०७७ साउन ३ शनिबार
112
Shares
काठमाडौं । शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिका बारेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं अर्थविद दीपेन्द्रबहादुर क्षेत्रीले साकारात्मक प्रतिक्रिया दिएका छन् । क्षेत्रीले कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्नको लागि मौद्रिक नीति समय सान्दर्भिक आएको बताए ।
‘कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्युनिकरण गर्ने मूख्य लक्ष्य लिएर मौद्रिक नीति आएको छ’ क्षेत्रीले भने, ‘यसमा पुनोरुत्थान भनेर जेजति कुरा आएका छन् । यसले सर्वपूर्ण किसिमबाट केही गर्न खोजेजस्तो देखिन्छ ।’
अहिले कर्जाको पुनर्तालिकिकरण गर्ने विषयमा ठुलो माग रहेको अवस्थामा उक्त माग सम्बोधन गरेर आएको, ब्याज मिनाह गर्ने माग पनि सम्बोधन भएकाले मौद्रिक नीति समय सापेक्ष रहेको भन्न सकिने क्षेत्रीको भनाई थियो ।
तर, मौद्रिक नीतिमा भनिएजस्तो कम प्रभावित, मध्यम प्रभावित र अति प्रभावित भनिएको विषयमा कसले वर्गीकरण गर्ने भन्ने विषय राष्ट्र बैंकले स्पष्ट गरेर अघि बढ्नुपर्ने क्षत्रीको सुझाव थियो । ‘अधिकांश माग सम्बोधन हुनेगरी कम प्रभावित, मध्यम प्रभावित र अति प्रभावित भनेर मौद्रिक नीतिमा आएको छ’ क्षेत्रीले हाम्राकुरासँग भने, ‘६ महिना, ९ महिना र १ वर्ष पुनरतालिकिकरण गर्ने समय खोजे अनुसारकै आउनु राम्रो कुरा हो । तर, यहाँनेर कम प्रभावित र अति प्रभावित भनेर सर्टिफाइ कसले गरिदिने हो भन्ने समस्या देखिन्छ ।’
राष्ट्र बैंकले कम प्रभावित, अति प्रभावित छुटयाउने कि? सम्बन्धित मन्त्रालयको दृष्टिकोणमा प्रभावित अनुसारको सिफारिस हो वा व्यवसायीले भनेकै कुरालाई पत्याइदिने हो कि स्पष्ट नरहेको क्षत्रीले औंल्याए । सगम्रमा अहिले कोभिडका कारण उत्पन्न परिस्थितिलाई हेरेर मौद्रिक नीति आएको क्षेत्रीले बताए ।