गैंडाकोट। मृगौला अवैध प्रत्यारोपण काण्डमा पक्राउ परेका अधिवक्ता रमेश काफ्ले गैंडाकोट नगरपालिकाका कानुनी सल्लाहाकार भएको पुष्टि भएको छ ।
गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले पटक पटक नगरपालिकाले कुनै कानुनी सल्लाहकार नराखेको भनेर अभिव्यक्ति दिएपनि काफ्लेको कुरा झुटा साबित भएको हो ।
अवैध मृगौला प्रत्यारोपण काण्डमा पक्राउ परेका प्रमाणपत्र नं १२२७५ नं का अधिवक्ता रमेश काफ्लेलाई २०७५ साउन १ गते कानुन नियुक्ति गर्ने गरि करार सम्झौता गरिएको खुल्न आएको छ । मुद्दा दायर, बहस पैरवीका लागि रमेश काफ्लेलाई नै कानुनी सल्लाहकार तोकि करार नियुक्ती गरिएको प्रमाण पाइएको छ ।
यसअघि गत असार २७ गते कानुन व्यवसायी काफ्ले सहित केही चिकित्सकहरुलाई मृगौला प्रत्यारोपणको अवैध कारोवारमा प्रहरीले पक्राउ गरे पछि 'गैंडाकोट नगरपालिकाका कानुनी सल्लाहकार काफ्ले पक्राउ’ भन्ने शिर्षकको समाचार राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा प्रकाशित भएको थियो ।
उक्त समाचार प्रकाशित भए पछि सामाजिक संजालमा चर्को आलोचना भएपछि सो बिषयमा प्रतिक्रिया दिदै नगरप्रमुख पौडेलले नगरपालिकाले कुनै कानुनी सल्लाहकार नराखेको भन्दै आएका थिए। गैंडाकोटको एउटा स्थानीय रेडियोमा अन्तर्वार्ता दिनेक्रममा पौडेलले कानुनी सल्लाहकार राखेको अर्नगल प्रचार गरिएको र प्रचार गर्नेहरुलाई खान नपाएका कुकुरको संज्ञा दिएका थिए ।
नगरप्रमुखले त्यस प्रकारको अभिव्यक्ति दिए पछि शुक्रवारबाट गैंडाकोट नगरपालिकाका विभिन्न स्थानमा सामाजिक दुरि कायम राख्दै नगरप्रमुखले सार्वजनिक माफी माग्नु पर्ने भन्दै प्रदर्शन हुन थालेका छ्न ।