काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्थानीयले गाउँपालिकाले गरेको खर्चको विवरण सार्वजनिक गर्न माग राख्दै आन्दोलन सुरु गरेका छन् । कोरोना महामारीका बीचमा राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद लगायतमा गाउँपालिकाद्धारा गरिएको खर्चको विवरण सार्वजनिक गर्न माग राख्दै स्थानीयले बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् । स्थानीयहरुले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै बिहीबार गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई ज्ञापन पत्र बुझाउने सहितका कार्यक्रम राखेका थिए । तर, अध्यक्ष चन्दले ज्ञापनपत्र बुझ्न आनाकानी गरेको र खर्च विवरण सार्वजनिक गर्न नमिल्ने अडान राखेपछि स्थानीयले बिहीबार नै गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।
बिहीबार स्थानीय युवाहरुले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै तालाबन्दी गरेपछि शुक्रबार गाउँपालिका अध्यक्षले त्यसको प्रतिवादसहीत सयौंको सँख्यामा गाउँपालिकामा पार्टी कार्यकर्ता उतारेका थिए । अध्यक्षले मासुभात सहीत भोजभतेरको आयोजना गरेर शुक्रबार मान्छे उतारेका थिए । अध्यक्ष चन्दले आफ्ना आसेपासेलाई मासु भात र रक्सी समेत खुवाई पिलाई प्रतिवादका लागि उतारेका थिए । रक्सी पिएर झगडा गरेका भिडियोहरु सामाजिक सञ्जाल फेसबुकमा यत्रतत्र छन् । खसीभात सहीत रक्सी खुवाएपछि अध्यक्ष चन्दले बिहीबार लगाइएको ताला समेत टुटाएका स्थानीय प्रकाश चन्दले बताए ।
युवाका स्वभाविक माग गाउँपालिका अध्यक्षको अस्वाभाविक हर्कत
गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले गाउँपालिकामा एकतर्फी रुपमा आफ्नो हैकम जमाउँदै आएका छन् । यसअघि गरिबलाई वितरण गर्दे भन्दै सोलार खरिद गरेर आफ्नो आसेपासेलाई दश दश वटा समेत सोलार वितरण गरेका चन्दले पछिल्लो समय कोरोना भाइरसको महामारी देखाउँदै घोटाला गरेको आरोप छ । कोरोना महामारीमा विरामी नै नभएका वडामा समेत ४० देखि ५० लाख रुपैयाँ खर्च भएको देखिएपछि त्यसको वास्तविक विवरण सार्वजनिक गर्न युवाहरुले माग राखेका छन् ।
युवाहरुले गाउँपालिकामा बुझाएको ज्ञापनपत्रमा उल्लेख भए अनुसार कोरोना महामारीमा राहत वितरणमा पहिलो र दोस्रो चरणमा गरिएको खर्चको विवरण सार्वजनिक गर्न माग गरिएको छ । त्यस्तै क्वारेन्टाइन सेन्टरको लागि खरिद गरिएका मास्क, आरडीटी कीट, भीटिएम किट्स लगायतका स्वास्थ सामग्री खरिदमा गरिएको खर्च विवरण पनि सार्वजनिक गर्न माग गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७४/०७५ देखि आव २०७६/०७७सम्मको गाउँपालिकाको सबै आयव्यव विवरण समेत सार्वजनिक गर्न ज्ञापन पत्रमा माग गरिएको छ। त्यस्तै गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिको भ्रमण भत्ता, कृषि फर्मका नाममा गरिएको खर्च विवरण सार्वजनिक गर्न पनि माग गरिएको छ। गाउँपालिकाले माछा पालन, बाख्रा पालनका लागि वितरण गरेको बजेट र त्यसको उपलब्धि समेत सार्वजनिक गर्न युवाहरुले माग गरेका छन् । पञ्चेश्वर गाउँपालिकाले कृषि फर्म सञ्चालन गर्ने भन्दै ठुलो लगानी गरेको थियो । सो फर्ममा गरिएको लगानी र त्यसबाट भएको उपलब्धि सार्वजनिक गर्न समेत युवाले माग गरेका छन् । त्यस्तै गत हिउँदमा गाउँपालिकाले लगाएको राष्ट्रनिर्माण महोत्सवमा ठुलो रकम खर्च गरिएकाले सो खर्चको विवरण र त्यसको उपलब्धि लगायतका खर्च विवरण सार्वजनिक गर्न माग गर्दै स्वतस्फुर्त रुपमा युवाले माग गरेका छन्।
तर, गाउँपालिकाले खर्च विवरण सार्वजनिक गर्नको सट्टा आसेपासेलाई बोलाएर माग गर्नेहरुलाई थर्काउने गरेका छन् । खर्च विवरण माग गर्नेलाई गाली गरेका केही भिडियो क्लिपहरु सामाजिक सञ्जाल फेसबुकमै सार्वजनिक भएका छन् ।
स्थानीय युवाहरुले बिहीबार तालाबन्दी गरेपछि शुक्रबार गाउँपालिका अध्यक्षले भोजभतेरको आयोजना गर्दै आफ्नो शक्ति प्रदर्शन गरेका स्थानीयले बताएका छन्। तालाबन्दीको विरोधमा अध्यक्षले उतारेका मान्छेहरुले लिपुलेक हाम्रै हो, केपी ओली जिन्दावाद भन्दै विषयान्तर गर्नेगरी नाराबाजी गराएका भिडियो क्लिपहरु फेसबुकमा सार्वजिनक छन् । गाउँपालिकाका अध्यक्ष तत्कालीन एमाले पार्टीका सदस्य हुन् । पछिल्लो समय आफ्नो कार्यकाल लम्ब्याउने ओलीले आफ्ना कार्यकर्तालाई सडकमा उतार्न लाएझैं गाउँपालिका अध्यक्षले पनि भोजभतेरसहीत आफ्नो पक्षमा नाराबाजी गर्न लगाएका हुन्।