ठोरीको सीतागुफासँगै विहानसम्म रहेको ४३६ नम्बर सीमा स्तम्भ अचानक कस्ले फाल्यो?
अप्रिय स्थिति नहोस भनेर सीमामा जान रोकियो, सशस्त्र र सीमा सुरक्षा बल लाग्यो अनुसन्धानमा
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३ शनिबार
61
Shares
पर्सा। पर्साको ठोरीस्थित सीता गुफा नजिकै नेपाल भारत सीमा क्षेत्रमा रहेको सीमा स्तम्भ उखेलेर फ्याकिएको अवस्थामा फेला परेको छ।
नेपालतर्फ पर्ने सीतागुफा भन्दा करिब ८ मिटर दक्षिणतर्फ डाँडामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलिएको अवस्थामा फेला परेको हो ।
ठोरीस्थित ससस्त्र प्रहरीको बीओपीका प्रहरी निरिक्षक दिपक दाहालले सीमा स्तम्भ उखेलिएर फ्याकिएको अवस्थामा भेटिएको बताए ।
ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले विहान पुजाआजा हुँदासम्म सीमा स्तम्भ देखिएको तर दिउँसो एकाएक सीमा स्तम्भ गायव भएको बताए ।
'विहानसम्म सीमा स्तम्भ देखेका थियौं, पूजाआजा सकेर फर्किएपछि पछि हेर्दा स्तम्भ मैले देखिन,’ ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले हाम्राकुरासँग भने ।
सीमा स्तम्भ उखेलिएको खबर पाएपछि ठोरीका स्थानिय पनि त्यहाँ पुगेका थिए । तर धेरै भीडभाड भएर अप्रिय स्थिति सि्जना नहोस भनेर सशस्त्र प्रहरीले स्थानियहरुलाई सीमातर्फ जान रोकेको छ।
सो स्थानमा अहिले सशस्त्र प्रहरी सहित भारतीय एसएसबीको इन्सपेक्टरको कमाण्डमा एसएसबीको टोली खटिएको छ । दुवैतर्फको टोलीले कस्ले सीमा स्तम्भ उखेलेर फालेको हो भन्ने बारेमा अनुसन्धान गर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएको भन्दै केही दिन अघी भनाइ सार्वजनकि गरेपछि सो क्षेत्रमा भीडभाड बढ्दै गएको छ। प्रधानमन्त्री ओलीको भनाईको नेपालमा मिश्रीत प्रतिक्रिया छ भने भारतमा यसको बिरोध भइरहेको छ। यहि भनाई पछि भारतमा कतिपय ठाउँमा नेपालीमाथि ज्यादती भएका खबर पनि आएका छन्।
सो सीता गुफामा शनिवार ठोरी गाउँपालिकाले भव्य पूजाअर्चना गरेको थियो। सो स्थानमा रहेको सीमा स्तम्भ कसले उखेलेर फाल्यो भन्ने विषयमा थप अनुसधान भइरहेको प्रहरीले बताएको छ।