काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा देखिएको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउन थप छलफल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
“बैठकमा पार्टीभित्र देखापरेका समस्याका बारेमा राम्रोसँग छलफल भएको छ। अझ छलफल गरेर पार्टी एकतालाई रक्षा र सृदृढ गर्ने र आजको समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेशअनुसार अगाडि बढ्ने विषयमा केन्द्रित भएको छ।” उनले भने, “त्यो जनादेशअनुसार काम गर्ने गरी पार्टीको सङ्कट निवारण गर्न अझ थप छलफल गर्ने निष्कर्ष निकालेको छ।”
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सचिवालयका अन्य सदस्यबीच अहिलेको पार्टीको सङ्कटलाई सहमतिका आधारमा निकास दिएर पार्टी एकताको रक्षा गर्ने र राष्ट्र तथा जनताले पार्टीलाई दिएको जिम्मेवारी पनि पूरा गर्नाका लागि थप गृहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने सहमतिसमेत भएको उनले बताए।
प्रवक्ता श्रेष्ठले दुवै अध्यक्षले पार्टीमा देखिएको सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याउने बताए। उनले स्थायी कमिटीमा र पार्टीमा देखापरेका विभिन्न विचारलाई पनि सम्बोधन गर्ने गरी कसरी सहमतिका आधारमा सम्बोधन गर्ने भनेर निकास निकाल्नका लागि छलफल जारी रहेको बताए।
सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने कुनै औपचारिक प्रस्ताव नबनेको बताए। “पार्टीमा छलफलका क्रममा पार्टीका विभिन्न नेताले के गरेर आजको सङ्कट समाधान गरेर हाम्रो जिम्मेवारी पूरा गर्न सकिन्छ भनेर विभिन्न विचार प्रस्तुत गर्नुभएको हो”, उनले भने, “त्यो प्रस्ताव (प्रधानमन्त्रीले राजीनामा) विचार बनिसकेको अवस्था र निर्णथार्य प्रस्तुत भएको छैन।”
उनका अनुसार बैठकमा भोलि (आइतबार) पूर्वानिर्धारित स्थायी कमिटीको बैठक अपराह्न ३ बजे नै जारी राख्ने सहमति भएको छ। गत असार १० गतेबाट जारी स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगन हुँदै आएको छ। सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो। चार घण्टा बालुवाटारमा बसेको बैठकमा समग्र पार्टीको सङ्कटका बारेमा छलफल भएको थियो।