सप्तरी। कोशी नदीमा पानीको वहाव बढेसँगै यसले आसपासका स्थानमा कटान शुरु गरेको छ। कटानबाट बच्न स्थानियहरुले प्रयास गरेपनि पर्याप्त रहेन।
वाढीले उदयपुर र सप्तरीका विभिन्न स्थानमा कटौती गरेको र गर्ने सम्भावना रहेपछि बस्ती र बस्तीमा रहेका अन्य सार्वजनिक सम्पती बचाउन प्रयासहरु भइरहेका छन्।
कोशी प्रोजेक्टको कुनौली डिभिजन अन्तर्गतको २ नम्वर सब डिभिजनमा पर्ने बेल्का क्षेत्रमा कटौतीबाट बचाउने प्रयास अन्तर्गत भइरहेको छ।
विहारमा रहेको कोशी प्रोजेक्टको सहयोगमा उदयपुरको बेल्का नगरपालिका वडा नम्बर १०मा कटानबाट बचाउन सयौं बोरा बालुवा राखि अस्थायी तटबन्ध गरिएको छ।
सो क्षेत्रमा रहेको वालसेवा आधारभूत विद्यालय सिसौली उदयपुर सहितको बस्तिलाई कटानबाट बचाउने काम भएको सप्तरीका अभियन्ता ज्योती झाले बताए।
सो क्षेत्रका रहेका सातवटा बस्तीमा रहेका करिब साढे दुई हजार व्यक्तिहरु अझै पनि खतरामा रहेको उल्लेख गर्दै झाले आफूहरुले उनीहरु सबैलाई सुरक्षित राख्न कोशी परियोजनासँग कुरा गरेर अस्थायी तटबन्ध गराउने पहल भइरहेको बताए।
झाकै पहलमा अढाई सय मिटरमा अस्थायी तटबन्ध भएको छ। झाले भने, ‘करिब ३ सय मिटर किनारा काटेको भएर कोशीले अर्को धार बनाएर पश्चिमतर्फ जाने अवस्था हुन्थ्यो। कोशी प्रोजेक्टको सहयोगका कारण यो खतरा अहिलेलाई टरेको छ।’ अझ केहि क्षेत्रमा अस्थायी तटवन्ध गर्नुपर्ने झाले बताए।
खतरामा रहेको बस्तीलाई बचाउन सहयोग गरेकोमा बेल्का नगरपालिका वडा नम्बर १० का वडा सदस्य श्याम लिम्बुले कोशी योजनालाई धन्यवाद दिए।
स्थानिय समाजसेवी धनीलाल चौधरीले जनधनको क्षती हुनबाट बचाएकोमा धन्यवाद दिए।