बेलबारी । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यालयमै ज्यानमार्ने उद्देश्यले खुकुरी र चक्कु प्रहार गर्नेलाई जोगाउने प्रयास गरिए जुनसुकै कदम चाल्न पछि नपर्ने नेपाली कांग्रेस केराबारीले चेतावनी दिएको छ ।
कांग्रेस मोरङका सदस्य तथा प्रचार विभाग प्रमुखसमेत रहेका तथा स्थानिय सरकार प्रमुख कार्कीमाथि कार्यालयमै सांघातिक हमला हुनुले कानुनी राज्यको उपहास भएको र आम नागरिकमा पनि असुरक्षा महसुस भएको भन्दै गुण्डागर्दी रोकेर नागरिकको सुरक्षाको ग्यारेन्टी गर्न समेत कांग्रेसले माग गरेको छ ।
गाउँपालिका अध्यक्ष कार्कीमाथि केराबारी १० का भवन भनिने किशोरसिंह ठकुरीले शुक्रबार दिउँसो गाउँपालिका कार्यालयको उपाध्यक्षको कार्यकक्षमा प्रवेश गरी खुकुरी तथा चक्कुले प्रहार गरेका थिए ।
बेलबारीमा शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केराबारी गाउँपालिकाका सभापति प्रकाश बस्नेतले दोषीलाई राजनितिक दल वा नेतृत्वले समेत जोगाउने दुष्प्रयास गर्न नहुने भन्दै यथार्थ पत्ता लगाउने गरी गहिराईमा गएर अनुसन्धान गर्न सुरक्षा निकायलाई आग्रह गरेका छन् ।
आक्रमणकारी भवन भनिने किशोरसिंह ठकुरीले चुनावमा सहयोग गरेको,व्यवसायिक लेनदेनका कारण घटना भएको भन्ने जस्ता अतिरञ्जित प्रचार भएको भन्दै नेपाली कांग्रेस केरबारीले त्यसमा कुनै सत्यता नभएको समेत स्पष्ट पारेको छ ।
विगतमा समेत आपराधिक घटनाका आरोपित व्यक्तिका रुपमा रहेका ठकुरीले चुनावताका प्रचारप्रसारमा खटिएको नेपाली कांग्रेसको समुहमाथी आक्रमण गरेको समेत कांग्रेसले स्मरण गराएको छ । नेपाली कांग्रेस केराबारीले प्रेस विज्ञप्ती समेत जारी गरेको छ । सभापति प्रकास बस्नेत र सचिव विमल राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा अनुसन्धानलाई असर पर्ने र भ्रामक विषय सम्पे्रषण नगर्न सञ्चारमाध्यमसँग आग्रह पनि गरिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष रोहित कार्कीका भाइ होम कार्कीले आक्रमण नियोजित भएको दावी गरेका छन् ।
कसैको स्वार्थ पुरा गर्न परिचालित भएर ठकुरीले आक्रमण गरेको दावी गर्दै उनले सबैकुरा प्रहरीको अनुसन्धानबाट खुलोस् भन्ने आफुहरुले चाहेको बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय सभापति तथा महासमिति सदस्य इश्वरी कोइराला, महासमिति सदस्य महेन्द्र सुवेदी पार्टी तथा भातृ संगठनका अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।