काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको नभई बाटोमा भेटिएर संगसंगै ससुराल गएका मात्र भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो बढ्दै जाँदा तत्कालीन एमाले र माओवादीबीच एकता नै नभएको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘एकता भएकै हैन । यो उनीहरु बाटोमा भेटिएर संगसंगै ससुराल गएका मात्र हुन् ।’
नेता केसीले दुई वर्षसम्म पार्टीको पूर्ण एकता नगर्ने पार्टीबीच सहमति हुन्छ भनेर कल्पनै गर्न नसक्ने बताए । उनले संगसंगै हिँडेपनि विचारमा कहिल्यै समानता नआउने बताए ।
पार्टीभित्र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामालाई लिएर चर्को बहस भइरहँदा ओलीले आफ्नो संकट टाल्न महाधिवेशनको नयाँ विषय उठाएका छन् ।
यो पनि कुनै ठेगान नभएको कुरा हुने अध्यक्ष केसीको भनाइ छ । उनले भने, ‘देशमा बाढी पहिरो र कोरोना छ । जनताले दुःख पाएका छन् । यिनीहरु यस्ता बेलामा आन्तरिक किचलोमा छन् ।’
एमाले र माओवादीबीच २०७५ साल जेठ २ गते पार्टी एकता भएको थियो ।