चौध कर्मचारी तलवविहीन, पारिश्रमिक माग्दा जेल हाल्ने उद्यम समितिको धम्की
प्रकाश बम,
प्रकाशित २०७७ साउन ४ आइतबार
35
Shares
डोटी । लघुउद्यम विकास अन्तर्गत काम गर्ने कर्मचारीले करार सम्झौता अबधिको मासिक तोकिएको पारिश्रमिक पाउन सकेका छैनन् ।
उद्योग पर्यटन वन तथा बाताबरण मन्त्रालय, घरेलु उद्योग तथा साना विकास समिति डोटी र सेती ट्रेनिङ रिसर्च सेन्टर दिपायल, सेबक धनगढीको साझेदारीमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेड्पा’ अन्तर्गतका १४ जना कर्मचारीले असार महिनाको पारिश्रमिक पाउन नसकेको बताएका छन् ।
‘हामीहरुलाई असार सम्मका लागि नियुक्ति पत्र दिइएको भए पनि असारको तलब नदिने भनिएको छ’ उद्यम विकास सहजकर्ता संघ डोटीका अध्यक्ष जयबहादुर थापाले भने, ‘नियुक्ति अनुसारको तलव दिइनुपर्छ ।’
आफूहरुलाई जेठ सम्मको पारिश्रमिक दिने निर्णय मान्य नहुने बताउँदै उनले भने, ‘असार सम्मको नियुक्ति पत्र भए पनि जेठ सम्मको मात्र पारिश्रमिक दिने निर्णय जिल्ला उद्यम विकास समितिले गरेको सुन्दा छ्क्क परेका छौं ।’
फिल्डमा गएर काम गर्दा पनि तलब नदिने निर्णयले श्रम शोषण भएको अर्का सहजकर्ता लोकेन्द्र धामीले बताए ।
महामारी, कोरोनाका कारणले काम नभएकाले जेठ महिना सम्मको मात्र पारिश्रमिक र भत्ता दिने निर्णय गरेको जिल्ला उद्यम विकास समितिका सदस्य सचिव हेमराज भट्टले जानकारी दिए ।
तर, उता जिल्ला उद्यम विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वयका प्रमुख राम ऐरको भनाइ फरक छ ।
उनले भने ‘सदस्य सचिवले ल्याएको प्रस्तावलाई हामीले पास मात्र गरेका हौं ।’ समितिमा अध्यक्षमात्र भएको तर कार्यलयले जे एजेन्डा ल्यायो त्यसमा छलफल गरेर निर्णय गरेको उनले जानकारी दिए।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले असार ३० गते गरेको निर्णयको बारेमा आफुलाई थाहा नभएको समेत ऐरले जानकारी दिए ।
उता उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले असार ३० गते दिन कार्यक्रम लागू भएका प्रदेशलाई उपसचिव दिनेशकुमार भुषालको हस्ताक्षर सहितको पत्र पत्राचार गरेको छ।
उद्योग मन्त्रालयले तलब सम्बन्धमा जिल्ला उद्यम विकास समितिबाट निर्णय गरे बमोजिम तलब सुबिधा दिन सकिने भनिएको भए पनि उद्यम विकास समितिले तलबको विषयमा निर्णय नगरेको र पारिश्रमिकका लागि सम्बन्धित निकायमा पहल गर्दा उल्टै समितिले जेल हाल्छु भन्ने समेतको धम्की दिएको सहजकर्ताहरुले आरोप लगाएका छन् ।
समितिले गरेको निर्णयमा कारण नै नखुलाइ जेष्ठ महिनासम्मको मात्र भुक्तानी दिने निर्णय गरेको छ ।
डोटी जिल्लामा सेबक धनगढी र सेती ट्रेडिङ रिसर्च सेन्टर दिपायल नामक संस्थालाई घरेलु उद्योग तथा साना उद्योग विकास समितिले काम गर्न छनोट गरेको हो ।
उक्त छनोट संस्थामा कार्यरत १४ जना कर्मचारी अन्तर्गत सेबक धनगढीमा कार्यक्रम संयोजक राजेन्द्र ठगुन्ना, कम्पुटर अपरेटर अनिता भण्डारी, लेखापाल रोशन भण्डारी र उद्यम विकास सहजकर्ता सुरेश धामी, डबल बिष्ट, सीता खड्का र आसिब कुवर रहेका छन् ।
त्यस्तै सेती ट्रेडिङ रिसर्च सेन्टर अन्तर्गत कार्यक्रम संयोजक गणेश खड्का, कम्पुटर अपरेटर हेम नागरी, लेखा पाल भगवती भाट, सहजकर्ता लोकेन्द्र धामी, जय बहादुर थापा, लालबहादुर खड्का र बाला सिंह कुड्माल कार्यरत रहेका थिए ।