मुखमा पिसाव फेर्दिएका जेलरलाई साथैमा राखेर मण्डेलाले खाए खाना
प्रकाशित २०७७ साउन ४ आइतबार
107
Shares
काठमाडौं । विश्व प्रसिद्ध व्याक्ति नेल्सन मण्डेलाको जन्म दक्षिण अफ्रिकामा १८ जुलाई १९१८ मा भएको थियो । उनले आफ्नो जीवनमा रंगभेदी, जातीभेदी नेतृत्व विरुद्ध अनवरत लडेर दक्षिण अफ्रिकाको पहिलो अस्वेत राष्ट्रप्रमुख बने। मण्डेलाले राजनीतिक जीवनमा लामो समय जेलमा बिताएका थिए। उनको निधन ९५ वर्षको उमेरमा सन् ५ डिसेम्बर २०१३ का दिन दक्षिण अफ्रिकाको जोहनेसबर्ग सहरमा भएको थियो ।
नेल्सन मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति बनेपछि आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए। सबैले आ-आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले।
त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना व्यक्ति पनि खानाको प्रतिक्षा गरि राहेका थिए। मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती व्यक्तिलाई पनि आफ्नो टेवलमा बोलाउन भने।
अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले। ती व्यक्तिले पनि खाना खान थाले। तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो। उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो। खाना खाई सकेर ती व्यक्ति शीर झुकाएर फटाफट होटलबाट निस्किए।
ती व्यक्ति खाना खाएर गएपछि मण्डेलाका सुरक्षा अधिकारीले मण्डेलालाई भने, 'राष्ट्रपति ज्यू, ती व्यक्ति धेरै बिरामी देखिन्छन्। खाना खाने समयमा उसको हात र शरीर लगातार काँपिरहेको थियो। पसिना पनि आइरहेको थियो र उनी साह्रै आत्तिएका देखिन्थे।'
मण्डेलाले मुस्कान दिदै भने,'तपाईले सोचेजस्तो ती व्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन। वास्तवमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती व्यक्ति त्यो जेलका जेलर थिए।'
'जब उनले मलाई जेलमा यातना दिन्थे म वेदना सहन नसकेर चिच्याई-चिच्याई पानी माग्थे तब ती व्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे।' मेण्डेला भन्छन्, 'अहिले म देशको राष्ट्रपति छु। सायद उनलाई लाग्यो होला उनको साथ पनि मैले त्यस्तै व्यवहार गर्नेछु। तर, मेरो चरित्र त्यस्तो छैन। मलाई लाग्छ कि बदलाको भावनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ। धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै विकासतर्फ बढ्न सक्छौं।'