बझाङ । जिल्लाको मष्टा गाउँ पालीका –१ कोटदेवलमा सत्तारुढ दल नेकपाका ३४ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न् ।
चुनावका बेलामा जनतालाई विभिन्न किसिमका झुटा नारा र आश्वासन दिएर सत्तामा पुगेको नेकपा दिनानुदिन कुर्सीको लुछाचुडी र भ्रष्टाचारमा लिप्त भएपछि उनीहरुले पार्टी परित्याग गरेको कांग्रेस बझाङका युवा नेता पुष्पराज रोकायाले बताए ।
पछिल्लो पटक कोरोना भाइरसका कारण जनतालाई लकडाउनको नाममा घर भित्रै थुनेर सिंगो नेकपा स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा कमिसनदेखि विभिन्न विकास निर्माणका काममा समेत भ्रष्टाचार गर्न थालेपछि उनीहरुले नेकपा परित्याग गरेका हुन् ।
दुई तिहाइ बहुमतको नेकपा सरकार गठन भएको २६ महिना बितिसक्दा पनि नागरिकका गास, बास र सुरक्षाको ब्यवस्थापन गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलीले उखान टुक्कामै अनर्थको समय बर्बाद गरेको उनीहरुको आरोप छ ।
नेकपा परित्याग गरेका ३४ जनालाई नेपाली कांग्रेस बझाङका भुतपूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले अबिर तथा खादा लगाइ दिएर स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा सिंहले ‘नेकपाको चरित्र भनेकै ठूला–ठूला भाषण र आश्वासन दिएर सत्तामा उक्लिने अनि सत्तामा पुगेपछि आफन्त र नातागोताको ब्यवस्थापन गर्दै ब्यक्तिगत सम्पत्तिको आर्जनतिर लम्किने हो’ बताएका थिए ।
नवप्रवेशी सम्पूर्ण कार्यकर्ताहरुले पनि बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादनै मुलुकको सुन्दर भविश्यको मार्गदर्शन रहेको भनी कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिने प्रधानमन्त्री ओली स्वयं आफै भ्रष्टाचारीहरुलाई जोगाउनमै उद्दत रहेका र चुनाव ताका नेकपाले दिएका आश्वासन र घोषणापत्र बमोजिम एउटा काम पनि नगरेको भनी चौतीसै जनाले आक्रोश ब्यक्त गरेका थिए ।
अब उप्रान्त नेपाली कांग्रेस पार्टी र भातृ संगठन भित्रै रहेर समाजको विकास र परिवर्तनका लागि निरन्तर काम गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।