सकियो स्पेनिश ला लिगा, अन्तिम खेलमा रचे मेस्सीले कीर्तिमान
प्रकाशित २०७७ साउन ५ सोमबार
86
Shares
काठमाडौं । स्पेनिश ला लिगा फुटबलको यो सिजन सकिएको छ । आइतबार राति अन्तिम चरणका सबै १० खेल भएपछि लिग सकिएको हो ।
लिगमा रियाल मड्रिडले ८७ अंकसहित सर्वाधिक ३४ औं पटक उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन मा बार्सिलोना ८२ अंकसहित दोस्रो भएको छ ।
एथलेटिको मड्रिड ७० अंकसहित तेस्रो तथा समान अंकबाट हेडटुहेडमा पछि पर्दै सेभिल्ला चौथो स्थानमा छ । भिल्लारियल ६० अंकबाट पाँचौं तथा ५६ अंकबाट रियाल सोसिडाड छैटौं स्थानमा रह्यो ।
लेगानेस, मयोर्का र इस्पानियोल रेलिगेशनमा परेका छन् ।
मेस्सीको रेकर्ड गोल
आइतबार भएको सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ५(० गोल अन्तरले पराजित गरेको हो ।
डिपोर्टिभोको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै अन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमिडोले एक एक गोल गरे ।
यससँगै मेस्सीले यस सिजन लिगमा २५ औं गोल पूरा गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
मेस्सीले ला लिगामा एकै सिजन सर्वाधिक धेरै असिस्ट गर्ने कीर्तिमान समेत बनाएका छन् । उनले यस सिजन २१ असिस्ट गर्दै पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् ।
फातीको गोलका लागि मेस्सीले असिस्ट गर्दै कीर्तिमान बनाएका हुन् ।