काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार अबको तीन दिन निरन्तर वर्षा भइरहने छ । प्रदेश १ देखि ५ सम्म भारी वर्षा समेत हुनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षा हुनेछ ।
कर्णाली र सुदूरपश्चिमका केही स्थानमा समेत भारी वर्षा हुनेछ ।
विभागले सर्वसाधारणलाई सुरक्षित रहेर बस्न आग्रह गर्दै देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार सबैभन्दा बढी पोखरामा, नेपालगञ्ज र काठमाडौंमा वर्षा भएको जनाएको छ ।
अति भारी वर्षासमेत हुने भएकाले सचेत रहन आग्रह गरिएको छ । पहाडी भेगहरुमा बैशाखदेखि नै बाढी पहिरो गइरहेको छ भने मनसुनको मध्यतिर अहिले झनै बढी खतरा रहेको जनाएको छ ।
त्यसैगरी तराई भेगमा डुबानसमेत भइरहेको छ । विभिन्न सडक मार्गहरु अवरुद्ध भएका छन् । सकभर अहिले बाहिर नहिँड्न र लामो दूरीको यात्रा गर्दै नगर्नसमेत आग्रह गरिएको छ ।