arrow

तिलाठी कोइलाडीका तीन वडा डुबानमा

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
flood-Parsa.jpg

राजविराज । दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले  जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका  छन् ।  जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबान भएको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए  ।

खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १, बेल्हीका १०० घर, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका करिब २०० घरमा पानी पसेको छ  ।  त्यस्तै  खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वी तटबन्धको स्परमा कटानसमेत शुरु भएको छ । सो ठाउँमा  ५० मिटरभन्दा बढी नदीको स्पर कटान गरेको जनाइएको छ ।  

यसैबीच वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वीतटबन्धका स्परमा कटान भएका ठाउँमा अहिले बाँसको पाइलिङ र बोरामा बालुवा हालेर  नियन्त्रण गर्ने काम शुरु गरिएको छ  ।  सो ठाउँमा बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रणको काम तीव्रगतिमा भइरहेको गाउँपालिका अध्यक्ष सतिश सिंहले  जानकारी दिए ।  

खाँडोको बाढीले बनरझुला, कोइलाडीका तीन र चार स्थानमा सडकमा समेत क्षति पु¥याएको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए  । त्यस्तै सप्तकोशीको बाढीबाट जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोही नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर परिवार डुबानमा परेको छ । 

यसैगरी राजविराज नगरपालिका वडा नम्बर २, ५ र ६ का बस्तीमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । जिल्लाको बलान, खडक, महुली, जिता र खाँडो नदीलगायत आधा दर्जन नदीमा बाढीको उच्च चाप रहेको छ । नदी आसपासका बस्तीमा पानीसमेत पसेको जनाइएको  छ ।

कोशी नदीमा पानीको बहाब बढेसँगै कोशी आसपासका सप्तकोशी र कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्थानीय ठाउँहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरभित्रै पनि पानीको उचित निकास नभएकाले घरमा पानी पसेको स्थानीयवासीले जनाएको छ । हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको इलाका प्रहरी कार्यालय भारदह पनि डुबानमा परेका छन ।
 
यता यसअघि नै जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबगाढा बस्तीमा सप्तकोशी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए । लगातार वर्षाले सयौँ बिगाहा धानबालीसमेत डुबानमा परेको छ । जिल्लाको सकरपुरा, रम्पुरा मलहनिया, तिलाठी, हनुमाननगरलगायतका ग्रामीण भेकमा किसानले रापेको धानबाली डुबानमा परेको किसानहरुले गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ