मुगु। सडक विस्तारका नाममा खन्ने सडक डिभिजन कार्यालय जुम्लाले कृषकको अन्नबालीका साथै स्याउका बोटहरुमा स्काभेटर तथा डोजर चलाएको छ । सडक डिभिजन कार्यालय जुम्लाले गमगढी ताल्च सडक खण्ड अन्तर्रग पर्ने ताल्च मैतु कागथला झागोठ सडक खण्डमा पर्ने जग्गामा लगाईएका सयौं स्याउका रुख बिरुवा तथा बर्षे अन्न बालीहरु नष्ट पार्दै स्काभेटर चलाएको हो।
सडक खन्दा लगाईएको अन्न बालीका साथै स्याउका रुख बिरुवाहरु नष्ट भएपछि कृषकहरु मर्कामा परेका छन् । बर्षौंदेखि दुखः गरेर जगेर्ना गरेका ७ स्याउ र २ वटा ओखरका रुखहरु डोजरले फालिदिएपछि आँखाभरि आसु पार्दै बसेकी छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउँकी जौमती भियालले भनिन, ‘अव के गर्ने होला ? क्षतिपूर्ती पनि दिदैन भन्छन। क्षतिपूर्तीको लागि पहल गरिदिन पर्यो।‘
वडा ५ ढुम गाउँकै अर्का कृषक सिङ बुढाका पनि साना ठुला गरि ३ सय स्याउका बिरुवा नष्ट भए । उनले पनि पीडा सुनाउँदै भने सबै लगानी डुब्यो अब के गर्ने होला ?
ताल्चकै जयगणेश बिकका २२ वटा रुख र राम बहादुर बुढाका ३ सय भन्दा बढी रुख यसैगरि ताल्च कै नन्द बहादुर महतारा, काली बहादुर रोकाया र हरिचन्द्र कार्की लगायत गरि १ हजार भन्दा बढी फलफुलका रुख बिरुवाहरु नष्ट भएका छन् । केही ठाँउमा बिरुवाहरु ढुङ्गा माटोले पुरेर नष्ट गरेको छ भने केही ठाउँमा डोजरले उखेलेको छ ।
सडक खन्ने क्रममा फलफुलका बिरुवाहरु नष्ट भएपछि कृषकहरुले सम्बन्धित निकायमा क्षतिपूर्तीको माग समेत गरेका छन् । यसैगरि सडकको तलमाथि लगाईएको बर्षे बाली कोदो, आलु समेत सडक खन्दाको माटो, ढुङ्गाको पहिरोले छोपेको छ । धेरैजसो ताल्चदेखि मैतु सडक खण्ड आसपासमा जग्गा भएका कृषकहरु मारमा परेका छन् ।
यता सडक डिभिजन कार्यालय जुम्लाले प्रभाबित कृषकहरुको क्षतीको बास्तबिक परिमाण आएमा क्षतिपूर्ती दिने आश्वासन दिएको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भन्डारीले जति रुख बिरुवाको क्षती भएको छ त्यति स्याउका बिरुवा बितरण गर्ने र अन्नबालीको हकमा क्षति भएको कृषकको लागि २-३ लाख रुपयाँ बराबरको चामल खरिद गरेर प्रति पिडित जग्गाधनी परिवारलाई राहत स्वरुप उपलब्ध गराउने बताए ।