arrow

लगातारको वर्षाले काठमाडौं उपत्यकामै डुबान, देशैभर त्रासैत्रास 

तीन दिनको वर्षामा परी कम्तीमा ८ जनाको ज्यान गइसकेको छ भने एक दर्जन भन्दा बढी बेपत्ता

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
narayanghad-mugling-pahiro.jpg

काठमाडौं । आइतबारदेखि परेको अविरल वर्षाका कारण देशैभरमा बाढी, पहिरो र डुबान भएको छ । असारे विकासका नाममा जथाभावी सडकमा डोजर चलाइँदा पनि यसको असर अझ बढी देखिएको छ । 

अहिले मुलुकका अधिकांश राजमार्गमा पहिरो गएको छ । तराई डुबानमा परेको छ भने पहाडमा पहिरो गएको छ । 

तीन दिनको वर्षामा परी कम्तीमा ८ जनाको ज्यान गइसकेको छ भने एक दर्जन भन्दा बढी बेपत्ता रहेका छन् । 

सरकारले भने उचित व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ । 

यता, काठमाडौं उपत्यकामा थुप्रै स्थान डुबानमा परेका छन् । भक्तपुरको हनुमन्तेदेखि मनोहरासम्म अनि ललितपुर तथा काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका हुन् । 

बाढी र पानी निकासको राम्रो व्यवस्था नहुँदा विभिन्न बस्ती जलमग्न बनेका छन् । त्यसैगरी नदी किनारका बस्तीमा बाढीले सर्वसाधारणलाई दुःख दिइरहेको छ । 

यता, हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका छन् । 

हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्दा बाढीले भक्तपुरका वडा नम्बर १, ३ र ४ क्षेत्रका बस्ती डुबानमा परेका छन् । घरमा हनुमन्ते पस्दा भुइँतलाका सामान डुबाएका छन् भने मानवीय क्षति नभए पनि भौतिक सामग्री डुबानमा परेका छन् । हनुमन्तेको बाढी बस्तीमा पस्दा बाराही क्षेत्रका स्कुल र बस्ती डुबानमा परेको भक्तपुर–३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए । 

बाढीले हनुमानघाटदेखि सल्लाघारीसम्मको बस्ती, स्कुल र अस्पताल डुबाएको छ । हनुमानघाट र यहाँको बस्ती, नजिकै रहेको सिद्धिस्मृति अस्पताल एवं वृद्धाश्रम, सूर्यविनायकको राम मन्दिरसँगै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय, यहाँका बस्ती, बाराहीस्थानको ज्ञानतारा स्कुल, उहाँका दर्जनौँ घर डुबानमा परेका छन् । बाराहीस्थानमा पुलको मुख नै थुनिएपछि स्थानीय र जनप्रतिनिधिले पुलमुनि थनिएका सामग्री निकालेका थिए । 

भक्तपुर वडा १ का सल्लाघारी क्षेत्रमा रहेको बस्ती र इवामुरा मेमोरियल अस्पताल डुबानमा परेको छ । भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यहाँको बस्ती र धानखेतमा बाढी पसेर क्षति पुर्याएको जानकारी दिए ।

यता सूर्यविनायक नगरपालिका क्षेत्रको बालकोट र दधिकोट क्षेत्रका अधिकांश भूभाग डुबानमा परेका छन् । बालकोटको चारदोबाटो क्षेत्रभन्दा तलका अधिकांश बस्ती डुबानमा परेका छन् । 

बालकोट रेडक्रस पछाडि, कौशल्टारभन्दा तलको क्षेत्रका बस्ती र धान खेतसमेत डुबानमा परेको सूर्यविनायक नगरपालिका वडा नं २ का वडा सदस्य सुवास कार्कीले जानकारी दिए ।

बालकोट वडा नं २ हाइटका बस्ती समेत डुबानमा परेका छन् । बस्ती विकाससँगै पानीको निकास थुनिएपछि बङ्गलामुखी मार्गको बाटोमुनिका बस्ती डुबानमा परेको छ । उता गोदावरी खोला किनाराका बस्ती पनि डुबानमा परेको कार्कीले जानकारी दिनुभयो । कौशल्टार इङ्लिस स्कुललगायत आसपासका बस्ती डुबानमा परेको छ । 

त्यस्तै सूनपा वडा नं ५ दधिकोटको मोर्डन स्कुल जाने बाटोभन्दा तलको अधिकांश बस्ती डुबानमा परेको छ । कटुञ्जेको गणेधारा टोलका ६० घर डुबानमा परेको स्थानीय युवराज घिमिरेले जानकारी दिए । यहाँको घट्टेखोलाको पानी बस्तीमा पसेपछि बस्ती डुबानमा परेर अधिकांश घरको भुइँतला जलमग्न भएको र भौतिक क्षति भएको उनले जानकारी दिए ।

गणेधारा टोल सुधार समितिका अध्यक्ष अनिता पाण्डेले घट्टेखोलामा लगाएको पर्खालसमेत भत्काएको र अचानक बस्तीमा पानी पसेपछि आवतजावत गर्नसमेत रोकिएको बताए । बाढी बस्तीमा पस्दा मानवीय क्षति नभए पनि लाखौँको भौतिक क्षति भएको उनको भनाइ छ ।

हनुमन्ते करिडोर निर्माण भएका क्षेत्र यसवर्ष डुबानमा नपरे पनि करिडोर निर्माणमा अबरोध पु¥याएर रोकिएका भक्तपुर नगरपालिका क्षेत्र, सूर्यविनायक नगरपालिकाका बालकोट क्षेत्र डुबानमा परेका छन् । 

हनुमन्ते करिडोर बनेको क्षेत्रमा विगतका वर्षमा डुबानमा परे पनि यसवर्ष डुबानमा परेन ।



लोकप्रिय समाचार
नयाँ