काठमाडौं । नेपाली राजनीतिका महामानव बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा नेपाली कांग्रेस तथा उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
उक्त अवसरमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देशैभर विभिन्न कार्यक्रमको आयोजनाका लागि एक साता अघि नै परिपत्र गरिसकेको थियो । उक्त परिपत्र अनुसार विविध कार्यक्रम भइरहेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जनाएका छन् ।
उक्त कार्यक्रम अन्तर्गत अहिलेको जल्दोबल्दो समस्याका रुपमा खडा भएको बाढी, पहिरो, डुवान रहेकाले उक्त प्राकृतिक विपत्तिमा परेकालाई उद्दार र राहत कार्यमा नेविसंघ सक्रिया भएको पनि बताइएको छ ।
उक्त अवसरमा रक्तदानदेखि वृक्षारोपणसम्म समेत गर्ने कार्यक्रम तय भएको छ ।
संग्रहालयमा वृक्षारोपण
यसैबीच नेविसंघ केन्द्रीय समितिले काठमाडौंमा बीपी संग्रहालय सुन्दरीजलमा वृक्षारोपण गर्दैछ । भारी वर्षालाई चिर्दै सुन्दरीजल पुगेर वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।
फलफूल, कपूर, धुपी, रुद्राक्ष लगायतका विरुवाहरु लगाउने कार्यक्रम रहेको नेविसंघ महामन्त्री तिमल्सिनाले बताए ।
दिउँसो १ बजे भब्य कार्यक्रम हुने महामन्त्री तिमल्सिनाले बताए ।
केन्द्रमा रामचन्द्र–सिटौला
उक्त कार्यक्रमको केन्द्रमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला रहने छन् ।
पछिल्लो समय दुवैबीच खासै राम्रो सम्पर्क हुन नसकेको चर्चा चलिरहँदा भारी वर्षालाई चिर्दै दुवै पाका र खारिएका नेताहरु एकै मञ्चमा भेला हुन लागेका हुन् ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको नेतृत्वका लागि समेत भिडेका दुवै नेताहरुबीच यसपटक बलियो गठबन्धन गरेर १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा नेतृत्वको टिमलाई परास्त गर्ने रणनीति आन्तरिक रुपमा बनिरहेको बताइए पनि व्यवहारले त्यस्तो हुन नसकेको गुनासो उनीहरुकै समूहका नेताहरुबाट सुन्न पाइन्छ ।
आगामी फागुनमा १४ औं महाधिवेशन गर्ने भनी नेतृत्वले घोषणा गरे पनि उक्त घोषणाअनुसार प्रक्रिया अघि बढ्न सकेको छैन ।
कोरोनाको महामारीको नाममा महाधिवेशन पछाडि धकेल्ने योजना देउवाले बनाएको भए पनि विरोध भएपछि समयमै गर्ने मनस्थितिमा पुगेको थियो ।
अहिले बाढी पहिरोको जोखिम छ । यस्तोमा सक्रिय कार्यकर्ता अद्यावधिक गर्ने क्रम पनि कठिन हुँदै गएको छ ।
त्यसबीचमा देउवालाई दवाव दिन समूह पनि खडा नभएको गुनासो आएको छ । यही सन्दर्भमा पौडेल र सिटौलाले एउटै मञ्चमा भेला भएर कतै बलियो एकताको कपूर त लगाउँदै छैनन् भन्ने चर्चा पनि सुरु भएको छ ।
बीपीको आदर्श नै थियो मेलमिलापको नीति । बीपीप्रति सच्चा श्रद्धाञ्जलि दिने एउटामात्र उत्तम विकल्प नै ‘एकता’ हो । बीपी सुन्दरीजल जेलमा बसे पनि त्यो स्थललाई प्यारो स्थलमध्येको एक मान्थे ।
जेल भए पनि उनले त्यहीं बसेर आफ्ना थुप्रै विचार कोरे । आदर्श रचे । साहित्यमा एक गहिरो छाप छोड्न सफल भए । बीपीको त्यही प्रिय स्थललाई साक्षी राखेर दुवै नेताले एकताको ‘कपूर’, एकताको ‘रूद्राक्ष’ र फलफूल लगाउने हो भने कांग्रेसभित्र देखिएको असहमतिको राजनीतिक वितृष्णाबाट समेत कार्यकर्ताले मुक्ति पाउने अपेक्षासमेत गरिएको छ ।
लोकतान्त्रिक पार्टीलाई अझ बढी व्यवहारिक बनाउन पनि महाधिवेशन अपरिहार्य छ । यो अवस्थामा नेतृत्वका दुई इतर समूह एक भएर अगाडि बढ्ने हो भने पक्कै पनि महाधिवेशनका लागि बल पुग्ने दावी गरिएको छ ।
देउवा नेतृत्वको विकल्प खोज्दै पूर्व सभापतिहरु
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तय भएपछि सोमबार केही पूर्वसभापतिको भेला भक्तपुरमा सम्पन्न भएको छ ।
देशव्यापी रुपमा सञ्चालन गरिने भेलाको सोमबार भक्तपुरबाट शुरुआत गर्दै भेलामा सहभागी काँग्रेस पूर्वसभापति तथा भ्रातृ सङ्गठनका पूर्वएवं वर्तमान सभापतिले पार्टीको वर्तमान नेतृत्व पूर्णरुपमा असफल भएको जनाउँदै विकल्प खोज्ने निष्कर्ष निकालेका छन् ।
भेलामा उपस्थितहरुले शेरबहादुर देउवाको नेतृत्व पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेका छन् । “मुलुकमा नेकपा नेतृत्वको सरकारले गरेको विभिन्न असंवैधानिक कामको विरोध गर्न नसक्नु, भ्रष्टाचार र जातीय विभेदका घटना बढ्दा पनि विरोध गर्न नसक्नु, प्रेस स्वतन्त्रतामाथि आक्रमण हुँदा मौन बस्नु, न्यायालय र संवैधानिक अङ्गलाई समेत आक्रमण गर्दा पनि देउवा नेतृत्वको कांग्रेसले कुनै विरोध नजनाउनु नै नेतृत्व असफलता रहेको” भेलामा सहभागीको तर्क थियो ।
नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थको सभापतित्वमा भएको भेलामा १४ औंँ महाधिवेशनमा वर्तमान नेतृत्वको विकल्प खोज्न पार्टी सभापति देउवा इतरका आठ नेताले सहमतिबाट एक मात्रै सभापतिको उम्मेदवारी दिने निर्णय गर्नुपर्ने धारणा सहभागीले राखेका थिए ।
भेलामा तीर्थराम डङ्गोल काठमाडौंँ, रामचन्द्र खड्का रामेछाप, बालचन्द्र पौडेल रसुवा, मोहन बराल सिन्धुली, लक्ष्मण राय सर्लाही, भूपेन्द्र थापा सिन्धुपाल्चोक, हर्षजीत लामा पूर्वसांसद, नेपाल किसान संघका सभापति भानु सिग्देल, नेपाल शिक्षक युनियनका अध्यक्ष मोहन ज्ञवाली, स्ववियू पूर्वसभापति विनिता अधिकारी, नेविसंघ पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागा, युवा नेता अष्ट कवेँलगायत नेताले आआफ्नो धारणा राखेका थिए ।
भेलामा २५ जिल्लाका पूर्वसभापति, भ्रातृ सङ्गठनका वर्तमान र पूर्वअध्यक्ष एवं विभिन्न सङ्गठनका पदाधिकारी, पूर्वसांसदलगायतको सहभागिता रहेको बताउँदै कार्यक्रमका सभापति कायस्थले काठमाडौँ उपत्यकाबाट शुरु भएको भेला सातै प्रदेशमा सञ्चालन गर्दै वर्तमान नेतृत्वको विकल्प खोजिने बताए ।