सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी अहिलेसम्म ३१ जनामध्ये ९ जनाको ज्यान गयो, २२ जना अहिलेसम्म बेपत्ता
प्रकाशित २०७७ साउन ६ मंगलबार
58
Shares
काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी अहिलेसम्म ३१ जनामध्ये ९ जनाको ज्यान गएको छ । २२ जना अहिलेसम्म बेपत्ता भएका छन् ।
बेपत्ताहरुमध्ये धेरैजसोलाई भोटेकोशी नदीले बगाएर लगेको आशंका गरिएको छ । निरन्तर वर्षाका कारण उद्धारमा समस्या भएको बताउँदै आइएको छ ।
पीडितले भने सरकारले उद्धारमा चासो नदेखाएको आरोप लगाउँदै आएका छन् । उनीहरुले ‘सासको आस मरे पनि लास भए पनि खोजेर देउ’ भनिरहेका छन् ।
यसैबीच चीनको खासामा रहेको ‘केरुङ च्छो’ नामक पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई पोखरी फुट्न सक्ने सम्भावना रहेकाले यसबाट क्षति हुन सक्ने भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सचेत रहन आग्रह गरेको छ ।
सूचना जारी गर्दै कार्यालयले सोमबार पोखरी फुट्ने सम्भावना र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको चिनियाँ समकक्षीहरुबाट दोभाषे मार्फत जानकारी प्राप्त भएकाले यदि त्यो पोखरी फुट्यो भने भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब बढ्न गई नदी किनारमा रहेका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका लगायत स्थानीय तहहरु बगाउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले सर्वसाधारणलाई उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्थजा मिलाउन पनि आग्रह गरेको छ ।
भारी वर्षाका कारण त्यस वरिपरिका कुनै पनि स्थल सुरक्षित नभएको आँकलन भइरहेका बेलामा फेरि यो अर्को विपद आउन लागेको भन्दै स्थानीय थप चिन्तित भएका छन् ।
उक्त क्षेत्रमा हाल वर्षा नभएको र राति पनि वर्षा नभएकाले कुनै खतरा नभएको बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
यद्यपि सुरक्षित स्थलमा स्थानीयलाई सारिसकेको उनले बताएका छन् । तातोपानीमा पनि वर्षा नभएको पाएको उनले बताए ।
हरेक १५–१५ मिनेटमा कोदारीमा सम्पर्क गरेर त्यहाँको अवस्था बुझ्ने क्रम जारी रहेको निरीक्षक न्यौपानेले बताए ।