गुल्मी । गुल्मीको इस्मा गाउँपालिका तथा मुसिकोट नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा मानविय क्षति हुने गरी पहिरो गयो । गत असार १८ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परी इस्मा गाउँपालिका–१ मल्दीका दुई जनाले अकालमै ज्यान गुमाउनुप-र्यो । ज्यान गुमाउने अठार महिने शिशु सिजन सारु समेत थिए ।
उनीसँगै सात बर्षिय अपेक्षा खत्री पनि पहिरोमा बगेर ज्यान गुमाइन् । ६ जना गम्भीर घाइते भए । पहिरोले त्यति मात्र सिमित राखेन । इस्माको मल्दी, जुकेपानी, तोरीखर्कमा एक सय ९४ घर विस्थापित भए । त्यहाँ अहिलेसम्म विद्युत, खानेपानी, सडक सुचारु हुन सकिरहेको छैन ।
मुसिकोट–२ का भागीरथ घिमिरे पहिरोमा परी बेपत्ता भए । लामो समय–सम्म खोजी कार्य गरियो । तर फेला परेनन् घिमिरे । परिवारले काजक्रिया गर्नुप-र्यो । त्यहाँका ५४ घर विस्थापित भए ।
पहिरोले क्षतबिक्षत भएका ती पहिरोस्थलहरुमा त्यहाँका स्थानीय सरकारहरुले चाँसो नदेखाउँदा पहिरो प्रभावित झन् पीडित भए ।
घर नै पहिरोको जोखिममा परेपछि पीडित स्थानीयले बनाएका टहरा र बिद्यालयमा आश्रय लिन बाँध्य भए । साहारा विहिन भएका उनीहरुलाई उद्वार, राहत र सहानुभूतिको आवश्यकता थियो ।
पीडितहरुलाई राहत, उद्वार र सहानुभूति प्रकट गर्दै त्यहाँका पीडितहरुको सहयोगका लागि नेपाली काँग्रेस गुल्मीले अग्रमोर्चा समालिरह्यो ।
निरन्तर काँग्रेसी नेताहरुको पहिरो प्रभावित स्थलहरुको अवलोकन र प्रभावितहरुसँगको भेट तिव्र बन्यो । राज्यका निकायहरु पीडितहरुको उद्वार र राहतमा निदाईरहँदा काँग्रेसका नेताहरु भने त्यस घटनाले निदाउन सकेनन् । जिल्लातह देखि स्थानीयतहसम्म पीडितहरुलाई राहत प्रदान र उद्वारका लागि झकझकाई रहे ।
अन्ततः पहिरो प्रभावित क्षेत्रहरुको स्थलगत अवलोकन शुरु भयो । पटक–पटकको कांग्रेस नेताहरुको जोडबलले नै जिल्ला विपद् व्यवस्थापन् समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा सहित अन्य राजनैतिक दलका नेताहरुले पनि पहिरो प्रभावित क्षेत्रको अवलोकन गरे ।
पीडितहरुले भने तीनै तहका सरकारको महसुस गर्न नपाएको गुनाँसो सुनाउँछन् । तर गुल्मी काँग्रेसले भने निरन्तर राहत प्रदान गर्दै आएको छ । नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, पूर्वसभापति त्रैलोक्य प्रताप सेन, उपसभापति बिष्णुप्रसाद बलाल, सचिव खिलध्वज, पन्थी र बिष्णु कुमारी सापकोटा क्षेत्रीय सभापति भगतसिंह खड्का सहितका नेताहरुले पटक–पटक पहिरो प्रभावित स्थलहरुको अवलोकन गरे ।
हातमा पानीको बोतल बोकेर हिलाम्य, साँघुरो बाटोको कठिनपूर्ण यात्रा गर्दै पहिरो प्रभावितहरुलाई भेटन् गएका उनीहरुले राहत प्रदानलाई पनि तिव्रता दिए । त्यस क्रममा काँग्रेसले पीडितहरुलाई खाद्यन्नसँगै त्रिपाल लगायतका अतिआवश्यक वस्तुहरु राहत स्वरुप प्रदान गरेको थियो ।
जस अन्तर्गत आइतबार मात्रै पनि मुसिकोट नगरपालिका–२ का पहिरो प्रभावितहरुलाई ठूलो परिणाममा चामल, दाल, चाउचाउ, नुन–तेल लगायतका विभिन्न खाद्यान्न वितरण गरेको हो ।
‘हाम्रो पार्टी सरकारमा नहुँदा पनि हामी राहतका सामग्री बोकेर आयौँ । अब सत्तारुढ पार्टीले अझ यो भन्दा धेरै राहत बोकेर पीडितलाई मलम लगाओस् ।’
काँग्रेसले श्रृङ्खलावद्ध रुपमा राहत प्याकेज ल्याउने सभापति श्रेष्ठले यस अघि नै घोषणा गरेका थिए । सोही अनुसार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री प्रदान गर्न पुगेका सभापति श्रेष्ठले विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुने गरी स्थापित गर्न तीनै तहका सरकारलाई आग्रह गरे । यस्तो समयमा पनि तीनै तहका सरकार संबेदनशिल बन्न नसकेको बताएका छन् ।
उनले भने, ‘हाम्रो पार्टी सरकारमा नहुँदा पनि हामी राहतका सामग्री बोकेर आयौँ । अब सत्तारुढ पार्टीले अझ यो भन्दा धेरै राहत बोकेर पीडितलाई मलम लगाओस् ।’
उनले विपत्तिको बेला पनि स्थानीयतहले कसैसँग समन्वय गर्न नसकेको बताए । सभापति श्रेष्ठले राजनैतिक आस्थाको आधारमा राहत वितरण नगर्न आग्रह गरे ।
प्रभावित क्षेत्रमा तत्कालै भू–गर्भविद्हरुको टोली लिएर अध्ययन गर्न सरकारसँग माग समेत गरे । काँग्रेसले त्यहाँ राहत लिएर पुगेपछि प्रभावित क्षेत्रका पीडितहरु हर्षित बनेका छन् । जिल्लाको पहिरो प्रभावितहरुलाई राहत वितरण पुगेका नेपाली कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले सरकार बिपदमा पनि गम्भीर बन्न नसकेको बताए ।
त्यहाँ अहिलेसम्म विद्युत, खानेपानी, सडक सुचारु हुन नसकेको बताए । स्थानीय सरकारको गम्भीरता नदेखिएको उनले बताए । विपत्तीको बेला राजनीति होइन मानवता देखाउन उनले आग्रह गरे ।
यसअघि इस्मा गाउँपालिका–१ का पहिरो पीडितहरुलाई दुई पटक राहत सामग्रीहरु वितरण गरेको थियो । नेपाली काँग्रेस गुल्मी काठमाण्डौँ सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिले राहत सामग्री व्यवस्थापन तथा वितरणमा सहयोग गरेको थियो ।
राहत सामग्री वितरणमा मुसिकोट नगरपालिका–२ का वडाअध्यक्ष लक्ष्मण खत्री, नेपाली कांग्रेस जिल्ला सदस्य महेन्द्र भण्डारी, शालिकराम पन्थी, महाधिवेशन प्रतिनिधि प्रेमनारायण भण्डारी, ज्ञानहरी सापकोटा, प्रदेश सभापति पूर्ण केसी, नेपाली कांग्रेस मुसिकोटका सभापति सुदर्शन शाक्य, लगायतको काँग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।
काँग्रेसले मंगलबार बीपी स्मृतिको अवसरमा समेत राहत, उद्धार लगायतका कार्यक्रम गरेरै विश्वेश्वर प्रसाद कोइरालालाई सम्झदै छ । गुल्मीमा कांग्रेस भ्रातृ संगठनहरुसमेत सक्रिय भएका छन् ।