arrow

कांग्रेस नेता शङ्कर भण्डारीको दुखेसो – पार्टीले मेलमिलापको नीति नै बिर्सन थाल्यो 

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
shankar-bhandari4.jpg

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताएका छन् । 

अठतीसौँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस व्यास नगर समितिले व्यास नगरपालिका–५ पाटनमा मंगलबार आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बिपीको सम्मान नहुने बताए ।

नेता भण्डारीले भने, “बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।” 

बिपीले सधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिए ।

नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पुर्याउने भन्दै भण्डारीले पार्टीभित्रको साथीहरुलाई चुनौतीको रुपमा देखेर काँग्रेस बलियो नहुने तर्क गरे । “आफ्नै साथीहरुलाई सिध्याएर पार्टी बलियो हुँदैन, पार्टीलाई बलियो बनाउन सबैसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ”, नेता भण्डारीले भने । 

काँग्रेस जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रजातान्त्रिक आन्दोलनमा बिपीले पुर्याएको योगदान सधै अविष्मरणीय रहने बताए । 

“बिपीको लोकतन्त्रप्रतिको निष्ठा सधै अविचलित रहिरहन्छ, बिपीप्रतिको निष्ठा जोगाउन काँग्रेसका कार्यकर्ता लाग्नुपर्छ”, उनले भने । 

बिपी स्मृतिको दिवसमा नेपाली काँग्रेसले आज दशवटै स्थानीय तहमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको नगरसभापति शान्तिरमण वाग्लेले जानकारी दिए । सो क्रममा आँप, बेल, अशोक, कपुरलगायतका २२५ बिरुवा रोपिएको थियो ।



लोकप्रिय समाचार
नयाँ