arrow

चेपाङहरुलाई निर्मम ढङ्गले वासस्थानबाट निष्कासन गर्ने कार्य रोक्न एम्नेष्टीको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ६ मंगलबार
amnesty-international-nepal.jpg

काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा रहँदै आएका चेपाङहरूलाई उनीहरूको वासस्थानबाट निष्कासन गर्ने कार्य तत्काल बन्द गर्न र उनीहरूको दशवटा घरलाई ध्वस्त पारिएको घटनामा जिम्मेवारहरूलाई जवाफदेही बनाउन एम्नेस्टी इन्टरनेसनलले माग गरेको छ।   

२०७७ साल श्रावण ३ गते शनिबार युनेस्को विश्व संपदा क्षेत्रको रूपमा सूचीकृत नेपालको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रमा २०५३ सालदेखि बसोवास गर्दै आइरहेका चेपाङ जातिका मानिसहरूको दुई वटा घरमा आगो लगाउनुका साथै निकुञ्जको हात्ती प्रयोग गरी अन्य आठ वटा घर ध्वस्त पारिदिएका थिए। उक्त आक्रमण कुनै पूर्व चेतावनी बिना गरिएको जनाउँदै एम्नेष्टीले एक विज्ञप्ती निकाली नेपालको सबैभन्दा सीमान्तकृत जनजाति समुदायमा पर्ने चेपाङ परिवारहरूले उक्त विध्वंसका क्रममा आफ्नो आवास मात्रै नभएर पैसा, परिचय पत्रका साथै आफ्नो स्वामित्वमा रहेको अन्य वस्तुहरू पनि गुमाएको उल्लेख गरेको छ। 

“आफ्नो आवासबाट जबर्जस्ती कसैलाई हटाउनु एउटा क्रूरतापूर्ण कार्य हो । पहिल्यैदेखि अति सीमान्तकृत उक्त समुदायका सदस्यहरूको जीवन नै जोखिममा पार्ने गरी आगजनीका साथै हात्तीद्वारा समेत आक्रमण गराउँदै उनीहरूको आवास ध्वस्त पार्ने तथा उनीहरूको स्वामित्वमा रहेका निजी सरसामानहरूसमेत नष्ट पार्ने कार्य अत्यन्तै अविवेकपूर्ण हुनुका साथै मानवअधिकारको उल्लङ्घन हो,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने । 

थपलियाले भने, “चेपाङ समुदायका मानिसहरूलाई संरक्षण गरिनुपर्दछ । उनीहरूलाई आफ्नो आवासबाट निष्कासन गर्ने अन्य कुनै पनि प्रयासहरूलाई तत्काल रोकिनु पर्दछ । आफ्नो आवासबाट जबर्जस्ती निष्कासित गरिएका यी मानिसहरूलाई पर्याप्त वैकल्पिक आवास र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्दछ । साथै यी जबर्जस्ती निष्कासनका कार्यहरूमा जिम्मेवार पीडकहरूलाई जवाफदेही बनाइनुपर्दछ ।” 

उक्त आक्रमणका एकजना पीडितले बताएअनुसार चेपाङ समुदायले खेती गर्न प्रयोग गरेको नजिकको जमिनमा लगाइएको बालिमा हात्तीहरू चराउँदै र उक्त बाली नष्ट गर्दै अधिकारीहरू उनीहरूको घर नजिक आइपुगेका थिए । त्यसपछि उनीहरूले दुई वटा घरमा आगो लगाइदिएका थिए र हात्तीहरूलाई अन्य आठ घरमा आक्रमण गरी ध्वस्त पार्न छाडिदिएका थिए । निकुञ्जका अधिकारीहरूले स्थानीय सरकारका अधिकारीहरूलाई समेत जानकारी नदिई यस्तो हर्कत गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृतले भने चेपाङ समुदायका मानिसहरूलाई जबर्जस्ती निकाल्ने कार्य नगरिएको र सात दिनभित्र उनीहरूले ओगटेको मध्यवर्ती वनक्षेत्रको अतिक्रमित क्षेत्र खाली गर्नका लागि भनिएको दावी गरेका छन् । तर उनको यो कुरा घटनाका पीडित, माडी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको भनाइसँग मेल नखाने एम्नेष्टीको दावी छ ।

माडि नगरपालिकाका नगरप्रमुखले त श्रावण ५ मा एउटा विज्ञप्ति नै जारी गरी निकुञ्जका अधिकारीहरूले कुनै समन्वयबिना एकतर्फी रूपमा गरेको कदमको भत्सर्ना गर्दै सङ्घीय सरकारलाई पीडित परिवारहरूको यथाशीघ्र पुनर्स्थापना र क्षतिपूर्तिका लागि उचित कदम चाल्न माग समेत गरेका छन् । 

आफ्नो घर गुमाएका चेपाङ समुदायका सदस्यहरू अहिले नजिकैको स्कूलको होस्टलमा अस्थायी रूपमा बसिरहेका छन् र उक्त क्षेत्रमा रहेका आफ्नो समुदायका अन्य चेपाङ जातिहरूले पनि यही दुर्गति भोग्नुपर्ने हो की भन्ने त्रासमा रहेका छन् ।  

गएको दुई महिनामा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले निकुञ्ज तथा आसपासमा रहेका समुदायहरूमाथि गरेको यो दोश्रो आक्रमण हो । गत जेठको अन्तिम साता बर्दिया राष्ट्रिय निकुञ्जका अधिकारीहरूले त्यहाँका भूमिहीन थारू समुदायका सदस्यहरूलाई जबर्जस्ती निष्कासन गर्ने प्रयास गरेको एम्नेष्टीको भनाई छ ।    

अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले उचित प्रकृया र अन्य कानुनी बचाउबिना आफूले बसोवास गरिरहेको भूमि र आवासबाट मानिसहरूलाई उनीहरूको इच्छाविरुद्ध निष्कासन गर्ने कार्य निषेध गरेको छ । यी कानुनी सुरक्षात्मक बचाउहरूमा प्रभावित समुदायहरूसँग निष्कासनका सबै संभाव्य विकल्पहरू पहिचान गर्ने, पूर्व र पर्याप्त समय सीमासहितको सूचना दिने, कानुनी उपचारको प्रावधान, कुनै पनि क्षतिका विरुद्ध क्षतिपूर्ति र आफैले आवासको व्यवस्था गर्न नसक्नेहरूका लागि पर्याप्त वैकल्पिक आवासको व्यवस्था आदि पर्दछन् । 

यसका अलावा आप्रवासी समुदायको सवालमा आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घको घोषणापत्रको धारा १० अनुसार “आदिवासी जनजातिहरूलाई उनीहरूले बसोवास गरेको क्षेत्र वा जमिनबाट जबर्जस्ती हटाइने छैन । सम्बन्धित आदिवासी जनजातिहरूको स्वतन्त्र र पूर्व सुसूचित सहमतिबिना, उचित तथा न्यायसङ्गत क्षतिपूर्तिमा सहमति नभएसम्म र संभव भएसम्म उनीहरूलाई आफ्नै स्थानमा फर्कने विकल्प नदीइकन कुनै पनि स्थानान्तरण वा पुनर्वास गराइनेछैन ।”  भनि प्रत्याभुत गरेको छ। तर चितवनमा भएको व्यवहार यि सबै मान्यताहरुको विपरित भएको एम्नेष्टीको ठहर छ। 



लोकप्रिय समाचार
नयाँ