काठमाडौं। आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने बेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्राधिकरणका अधिकारीहरुले जनाएका छन्।
कूल १०२ मेगावाट क्षमताको आयोजनामा निर्माण व्यवसायीको लापरवाही भएको पाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले निष्कर्ष निकालेको छ । सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको प्राधिकरणको बुझाई छ ।
आयोजनास्थलमा बेलाबेलामा नेपाली चिनियाँ कामदारहरुबीच झडप समेत हुने गरेको छ । चिनियाँ कम्पनी र कम्पनीमा कार्यरत कर्मचारी र श्रमिकहरुले सो क्षेत्रमा मनोमानी गर्दै आएका छन् । तीन हप्ता अघी नेपाली कामदार र चिनियाँ कमर्चारीबीच आयोजनास्थलमा झडप समेत भएको थियो ।
चिनियाँ कर्मचारीले नेपाली श्रमिकहरुलाई युवतीको माग गरेपछि झडप
चिनियाँ ठेकेदारहरुले रमाइलो गर्न भन्दै स्थानीय युवती ल्याउन नेपाली श्रमिकहरुलाई भनेपछि उनीहरु आक्रोशित बनेको आयोजनामा काम गर्ने एक नेपालीले भने । त्यसबीचमा आक्रोशित नेपाली श्रमिकहरु र चिनियाँबीच झडप भएको थियो । चिनियाँ अधिकारीहरुले उक्त घटना ढाकछोप गर्न स्थानीयलाई अहिले पनि दबाब दिँदै आएका छन् ।
चिनियाँ कामदार र इन्जिनियरहरु काम गर्नको साटो बजारमा घुम्ने तर आयोजनाको काममा ध्यान नदिदा आयोजना ढीला हुने देखिएको हो । आयोजना ढीलो गराएर म्याद बढाउने नियत देखिएको ति नेपाली श्रमिकले भने ।
केहि काम नभएपनि चिनियाँ कर्मचारीहरुको सम्पर्कमा आएका केहि नेपालीहरुको अस्वभाविक हैसियत बढेको देखेर ति श्रमिकले भने यहाँ कुरा आयोजनाको भए पनि काम चाहि अरु नै हुन्छ जस्तो छ ।