काठमाडौं । दैनिक २० करोड रुपैयाँ नेपाल भित्र्याउने दुई लाख गोर्खा सैनिक केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा सडकमा उत्रिएका छन् ।
आफूहरुलाई सरकारले अनागरिकसरह व्यवहार गरेको भन्दै दुई लाख गोर्खा सैनिकको प्रतिनिधित्व गर्ने संस्था संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याण महासंघ नेपाल आन्दोलनमा उत्रिएको हो ।
ओली सरकारले २०७७ असार १७ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार भारत, सिंगापुर र बेलायतबाट सेवा निवृत्त भूपू सैनिकहरुलाई लक्षित गरी अनागरिक सरह अपमान गर्दै सामाजिक सुरक्षा भत्ताबाट बञ्चित गरिएको भन्दै महासंघ आन्दोलित भएको हो ।
महासंघले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै विदेशमा आफ्नो जिउज्यानको बाजी थापेर आफ्नो परिवार र देशको लागि आर्थिक आय आर्जन (रेमिटेन्स) भित्राउन यो समूहले ठूलो आर्थिक भार थेगेको स्मरणसमेत गराएको छ ।
पत्रमा भनिएको छ, ‘विदेसिनु रहर हैन वाध्यता हो । हामीलाई राज्यद्धारा दोस्रो दर्जाको नागरिक सरह अर्थात् अनागरिक सरह व्यवहार गर्नु अत्यन्तै खेदजनक छ ।’
पत्रमा थप चेतावनीसहित भनिएको छ, ‘यदि राज्यले अथवा सरकारले यो विभेदकारी निर्णय तुरुन्त फिर्ता नलिए जस्तोसुकै कदम चाल्न वाध्य हुनेछौं ।’
महासंघले सरकार आफैले भन्ने गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को ठीक विपरीत दिशातिर लागेको र न्यून आय आर्जन हुनेको स्तरोन्नति हुने खाले कुनै योजना नल्याएको आरोप लगाएको छ ।
जनप्रतिनिधि र तीनै तहका पदाधिकारीहरुको सेवा सुविधा घुमाउरो पाराले वृद्धि गरी गरिब जनताको घाँटी रेटेको सरकारले दलाल र भ्रष्ट प्रवृत्तिमा अंकुश नलगाए महासंघ मुकदर्शक बनेर नबस्ने चेतावनी समेत दिइएको छ।
आफूहरुको मागको सुनुवाई नभए पूर्व सैनिकहरु सडकमा देखिने अवस्था श्रृजना हुने चेतावनीसमेत महासंघले दिएको छ ।
महासंघले भनेको छ, ‘हामी पूर्व सैनिकहरुलाई सरकारले निवृत्तभरण दिन परेको छैन । त्यो जुन देशको सेवा गर्यो त्यही देशले दिइरहेको छ । हाम्रो निवृत्तभरणमार्फत देशमा एक दिनमा करिब २० करोडको रकम भित्रिएको छ । सेवाको समयमा हाम्रो बेतन पनि देशमा भित्रिने गर्यो । हामीले विदेशको सेवा गरेपनि आफ्नो देशको अर्थव्यवस्थामा बल पुर्याउने योगदान गर्दै आइरहेको छौं । आज देशले वृद्ध अवस्थामा पाउने सामाजिक सुरक्षा भत्ता जो कि निम्न मात्र छ, बाट हामीलाई वन्चित गराउँदा हामीले सामाजिक भत्ता भन्दा पनि सामाजिक सम्मानबाट नै वञ्चित भएको महसुस गरिरहेका छौं ।’
महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो सम्बन्ध जनस्तरसँग जोडिएको छ । हामी भारतीय भूपू सैनिकहरुको लागि दुबै देश बन्दनीय छन् । त्यसकारण यो सदियौं पुरानो सम्बन्धलाई अझै बलियो बनाउन नेपाल सरकारसँग अनुरोध गर्न चाहन्छौं । कोभिड १९ महामारीकै समयमा पुरानो सीमा विवादलाई लिएर दुई देशबीच जो तिक्तता देखा परेको छ यसले यस महासंघमा आबद्ध एक लाख पचास हजार भूपू सैनिक तथा ५० हजार सेवारत भारतीय सैनिक र उनका परिवारहरु निकै चिन्तित रहेको अवगत गराउन चाहन्छौं ।’