काठमाडौं। लोकसेवा आयोगले गत असार ३१ गते पूर्व निर्धारित कार्यक्रम अनसार सहसचिव पदमा बढुवा हुन प्रतिष्पर्धा गरेका ३ जना उम्मेदवारको मौखिक परिक्षाको मिति तय गरेको थियो, आयोगको कार्यालयमा परिक्षा हुने कार्यक्रम तय थियो । सहसचिवकोलागि सिट संख्या एक मात्र थियो तर परिक्षार्थी ३ जना थिए।
परिक्षा दिनकोलागि परिक्षार्थीहरु निर्धारित समयमै आयोगको कार्यालय पुगेका थिए । तर परिक्षा सुरु हुनुभन्दा करिब आधा घण्टा अघि अकस्मात परिक्षा स्थगित भएको सूचना टाँगियो। परिक्षाको अर्को मिति तय गरिएन । खाली अर्को सूचना प्रकाशित नभएसम्म परिक्षा स्थगित भएको जानकारी गराइयो। परिक्षार्थीहरुले परिक्षा स्थगित भएकोमा कार्यालयका प्रमुखहरुसँग सोधपुछ गरे तर सबैले आफूलाई जानकारी नभएको बताए।
तर आयोग स्रोत भन्छ,त्यस दिन सेटिङ मिलाइएको थियो। विज्ञको रुपमा बोलाएका व्यक्ति र उम्मेदवारवीच सेटिङ भएको थियो। यसको सुइको आयोगका अध्यक्ष उमेश मैनालीले पछि मात्र थाहा पाए। त्यसपछि उनले हतार हतारमा परिक्षा स्थगित भएको सूचना टाँस्न लगाए। तर यसबारेमा आयोगका कुनै पनि कर्मचारी औपचारिक रुपमा बोल्न चाहन्नन। प्रवक्ता र सूचना अधिकारी समेत यसबारेमा आफू जानकार नभएको बताउछन्। सहसचिवकोलागि परिक्षा दिन गएका ती तीन जना उम्मेदवार बहालवाला उपसचिव हुन्। उनीहरु प्राविधिक समुहका हुन्। प्राविधिक समुहमा खाली भएको एक सिटकोलागि मौखिक परिक्षा लिने कार्यक्रम तय गरिएको थियो।
स्रोत भन्छ,प्रशासन समुहका परिक्षामा परिक्षा लिने विज्ञहरु धेरै हुन्छन । कोसँग कुन व्यक्तिले परिक्षा लिन्छन, कसैलाई थाहा हुदैन । यहासम्म कि, आयोगका कर्मचारीहरुलाई पनि यसबारेमा थाहा हुदैन । कुन उम्मेदवारसँग कुन विज्ञले परिक्षा लिन्छन,यसको कोडिङ गरिएको हुन्छ । परिक्षा हलमा पुगे पछि मात्र विज्ञले थाहा पाउछन् । तर प्राविधिक समुहका विज्ञहरु निकै कम हुन्छन् । त्यसैले कोडिङ हुँदा पनि विज्ञ र प्राविधिक समुहका परिक्षार्थीवीच सेटिङ हुने सम्भावना धेरै रहन्छ,–स्रोतले भन्यो । आयोगले बाहिरबाट सम्बन्धित क्षेत्रका विज्ञहरुलाई बोलाएर परिक्षा लिन लगाउने गर्छ । यो आयोगका परम्परा हो । परिक्षामा आयोगका पदाधिकारी पनि बस्छन तर विज्ञलाई पनि बोलाइएको हुन्छ । मौखिक परिक्षामा विज्ञको हात महत्वपूर्ण हुन्छ ।
आयोगमा सेटिङ हुने गरेका यस्तै घटना यसअघि पनि बेला बेलामा सार्वजनिक हुने गरेका छन् । केही दिन अघि आयोगमा शाखा अधिकृत मिमबहादुर शाहीले गत जेठ महिनामा आफनी छोरीको उत्तर पुस्तिकालाई सच्च्याएर पहिलो नम्बरमा पास गराएका थिए । यस विषयमा आयोगमा पदाधिकारीलाई शंका लाग्यो । पछि बुझ्दा थाहा भयो, शाहीले आफनी छोरीलाई पास गराउन छोरीले दिएको उत्तरपुस्तिकामा आफैले सच्च्याएका रहेछन् । उनकी छोरीले नेपाल बायुसेवा निगमका चौथौ सहायक पदकोलागि परक्षा दिइएकी थिइन् । आयोगका पदाधिकारीहरुले यसबारेमा सोधखोज नगरेको भए उनले पहिलो नम्बर लिखित परिक्षा पास गर्ने थिइन् । शाहीको हर्कत पुष्टि भए पछि आयोगले उनलाई कारबाही गरेको छ भने उनकी छोरीको परिक्षा रद्द गरिएको छ।
हाल नेपाल सरकारका सचिव सूर्यप्रसाद गौतमले पनि केही वर्ष अघि यस्तै हर्कत गरेका थिए । गौतम आयोगमा हुँदा उनले आफ्नै श्रीमतीको कापी जाँचेर श्रीमतीलाई पास गराएका थिए । पछि यो घटना सार्वजनिक भयो । आफैले कापी जाँच गरेर श्रीमतीलाई पास गराएको पुष्टि भयो । पछि उनी कारबाहीमा परे । निलम्बनमा पनि परे । हाल उनको निलम्बन फुकुवा भएको छ र सचिव भइ पुन जागिर सुरु गरेका छन् ।
लोकसेवा आयोग सबैभन्दा विश्वासिलो संस्था मानिन्छ । निष्पक्ष र स्वतन्त्र रुपमा अयाोगमा परिक्षा हुन्छ, भन्ने विश्वास सबैलाई छ तर आयोगमा दोहोरिने यस्ता घटनाहरुले आयोगको विश्वासनियतामा शंका उत्पन्न हुने सरोकारवालाहरु बताउँछन्।