काठमाडौं । फ्यानबिना नै लिभरपुलले इंगलिश प्रिमियर लिग फुटबलको उपाधि हातमा लिँदै चियर्स गरेको छ । बुधबार रातिको ३७ औं चरणको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीमाथि ५–३ गोल अन्तरको जित निकालेको हो ।
८ गोल भएको उक्त खेलमा घरेलु मैदानमा लिभरपुललाई विजयी गराउन नाबि केता, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, जर्जिनियो, रोबर्टो फर्मिन्हो र एलेक्स च्याम्बरलेनले १–१ गोल गरे ।
३–० गोलले पछि परेको चेल्सीलाई ओलिभर जिरु, ट्यामी अब्राहम र क्रिष्टियन पुलिसिकले १–१ गोल गर्दै अन्तर कम गरेका थिए ।
यो खेलको हारले भने चेल्सीले तेस्रो स्थान गुमाएको छ ।
लिभरपुलले फ्यानबिना चियर्स गरेको छ । लिभरपुलको अन्तिम खेल्न बाँकी छँदा ९६ अंक भएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ७८ अंक छ ।
म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा पुग्न सफल भएको छ । बुधबार राति भएको खेलमा युनाइटेड वेष्टह्याम युनाइटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा मासुन ग्रीनवुडले गोल गरेपछि युनाइटेड हारबाट जोगिएको हो ।
खेलको ५१ औं मिनेटमा ग्रीनवुडले गोल गरेका थिए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा मिचेल एन्टोनियोले पेनाल्टीमा गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए ।
युनाइटेडले ३७ खेलमा ६३ अंक जोडेको छ । युनाइटेड र चेल्सीको ६३–६३ अंक रहे पनि युनाइटेड अगाडि छ । लेस्टर सिटी ६२ अंकबाट पाँचौं स्थानमा छ ।
अन्तिम चरणका सबै १० खेल आइतबार हुनेछन् । उक्त खेलमा चेल्सीले घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डेरसर्ससंग खेल्नेछ ।
म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीसंग लेस्टरको मैदानमा खेल्नेछ ।
नर्विच सिटी र बर्नमाउथ रेलिगेशनमा परिसकेका छन् । समान ३४ अंकमा रहेका वाट्फोर्ड र एस्टन भिल्लामध्ये एक टिम रेलिगेशनमा पर्नेछ ।