लगानी बोर्डको सिईओ आकांक्षी आधा दर्जनको शर्टलिष्ट बन्यो, को कस्ता ?
प्रकाशित २०७७ साउन ८ बिहिबार
128
Shares
काठमाडौं । लगानी बोर्डले छिट्टै प्रमुख कार्यकारी अधिकृत (सिईओ) पाउने भएको छ । त्यसका लागि १२ जना आकांक्षीमध्ये ६ जनाको नाम अर्थ मन्त्रालयमा पठाइएको छ ।
सिईओ नियुक्तिका लागि गभर्नर महाप्रसाद अधिकारी नेतृत्वमा गठित उपसमितिले १२ आकांक्षीमध्ये ६ जनाको शर्टलिष्ट अर्थ मन्त्रालयमा पठाएको हो ।
अब अर्थ मन्त्रालयले ६ मध्येपनि ३ जनाको नाम प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सिफारिस गर्ने छ । सिफारिस तीनमध्ये एक जनालाई मन्त्रीपरिषदको बैठकले लगानी बोर्डको सिइओ नियुक्ति गर्ने छ ।
यसअघि लगानी बोर्डका तत्कालीन सिईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनरमा नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो ।
रिक्त पदमा नियुक्तका लागि सरकारले गत असार ५ गते सूचना जारी गर्दै आवेदन माग गरेको थियो ।
को को परे शर्टलिष्टमा ?
अर्थ मन्त्रालयका अनुसार लगानी बोर्डको सिईओ नियुक्तिका लागि आवेदन दिने १२ जनामध्ये ६ जनाभित्र सुमन शर्मा, सुशील ज्ञवाली, दीपकराज जोशी, चण्डीकाप्रसाद भट्ट, रामकृष्ण खतिवडा र सरोज कोइराला रहेका छन् । ती लगायतका अन्य ६ जनाले पनि आवेदन दिएका थिए ।
शर्टलिष्टेड ६ जनाहरुमध्ये सुशील ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ हुन् । यसअघि अयोग्य भन्दै प्राधिकरणबाटै हटाइएका उनी प्रधानमन्त्री केपी ओलीको दोस्रो कार्यकालमा प्राधिकरणको सिईओमा नियुक्त भएका हुन् ।
भुकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी पाएको उनी नेतृत्वको प्राधिकरणले पुननिर्माणको कार्य गरिरहेको छ ।
त्यस्तै सुमन शर्मा माच्छापुच्छ्रे बैंकका पूर्वसिइओ हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा गोल्डमेडलिष्टसहीत स्नातकोत्तर गरेका शर्माले नेदरल्याण्डबाट बेष्टस्टुडेन्ट अवार्डसहीत फाइनाइन्समा एमबीए गरेका छन् । यसअघि २ दशक बैंकिङ क्षेत्रमा नै विताएका शर्माको प्रोजेक्ट फाइनाइन्सिङ र रिष्क म्यानेजमेन्टमा दख्खल रहेको मानिन्छ ।
माच्छापुच्छ्रे बैंकलाई नै अहिलेको अवस्थामा ल्याउन ठुलो भुमिका खेलेका उनले फाइनाइन्सिङ इन्स्ट्रुमेन्ट राम्ररी बुझेका छन् । लामो समय बैंकिङ क्षेत्रमा विताएका उनीसँग अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सक्ने क्षमता रहेको उनलाई बुझेका बैंकरहरु बताउँछन्।
त्यस्तै नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी रहेका दीपकराज जोशीले पर्यटन क्षेत्रको प्रचारप्रसारमा योगदान गरेका छन् ।
उनले पर्यटन वोर्डमा दोहोरिन खोजेपनि त्यहाँ हुन सकेकव थिएन । चण्डीकाप्रसाद भट्ट विशेष आर्थिक क्षेत्र (सेज) का पूर्व कार्यकारी निर्देशक हुन् ।
त्यस्तै रामकृष्ण खतिवडा विद्युत नियमन आयोगका पूर्वसदस्य हुन् भने सरोज कोइरालालाई विदेशी लगानीको जानकारका रुपमा लिइने गरिएको छ ।