arrow

उपत्यकामा नौसहित थप १४७ जनामा संक्रमण, ७० वर्षीय पुरुषको मृत्यु

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । देशभरमा बिहिबार थप १४७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ४८१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमितको जम्मा संख्या १८ हजार २४१ पुगेको छ । 

त्यस्तै सक्रिय संक्रमितको संख्या पाँच हजार ३५८ पुगेको छ ।  प्रदेशअनुसार सक्रिय संक्रमितको संख्या प्रदेश नं १ मा १२४, प्रदेश नं २ मा एक हजार ८९७, वाग्मती प्रदेशमा ४२७, गण्डकी प्रदेशमा ३२४, प्रदेश नं ५ मा ३४४, कर्णाली प्रदेशमा ३०४ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९३८ रहेको छ ।

 कोभिड–१९ बाट संक्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १५६ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको संख्या २० हजार ९८ जना रहेको छ ।

हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको संख्या एक लाख ६१ हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८१ हजार १८० छन् । बिहिबार मात्रै १०० जनाले इन्ट्री गरेकामा कोही पनि रेड जोनमा नपरेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै संक्रमितको संख्या ५०० भन्दा बढिरहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हाल एक जना पनि संक्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

थप एकको मृत्यु
त्यसैगरी कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । 

श्वासप्रश्वासमा कठिनाइ आएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा यही साउन ७ गते निधन भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड –१९ बाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । 

काठमाडौँ उपत्यकामा नौ जना कोभिड–१९ पुष्टि
काठमाडौँ उपत्यकामा नौ जनामा कोभिड– १९ संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरका एक र काठमाडौँका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका तीन र स्टार अस्पताल सानेपाको ल्यावमा गरिएको परीक्षणमा ललिपुरका एक जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता गौतमले बताए । 



लोकप्रिय समाचार
नयाँ