arrow

सहरी दिगो विकास र भुगर्भ

logo
सुनिल लम्साल,
प्रकाशित २०७७ साउन ८ बिहिबार
nepal-map.jpg

न्युनतम आधारभुत आबश्यकता पुरा गर्नेगरी विकास भएको बाक्लो आवादी सहितको भौगोलिक क्षेत्र नै सहर वा नगर हो । हाम्रो देशलाई ७५३ स्थानिय सरकारको रुपमा विभाजन गरिएको छ । जस अन्तर्गत ६ महानगरपालिका, ११ उप महानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी नगरपालिकाहरुमा पनि न्युनतम सहरी आधारभुत आवश्यकताहरुको उपलब्धता कम छ । पहाडी भेगका नगरपालिकाहरुको अवस्था त अझ कमजोर देखिन्छ। तसर्थ यस्ता नगरपालिकाहरु नगरपालिका भन्दा पनि नगरउन्मुख पालिकाहरुको रुपमा रहेका छन् । 

सहरी विकासका लागि नगरउन्मुख पालिकाहरुको आवश्यकताहरु पनि धेरै हुन्छन् र त्यस्ता आवश्यक आधारभुत आवश्यकताहरु समेत पूर्ती गर्न यहि विद्धमान स्रोतहरुको नै उपयोग गर्नुपर्छ । तर त्यसरी गरिने उपयोगबाट प्रकृति, मानव तथा अन्य भौतिक पुर्वाधारहरुमा प्रतिकुल अबस्था सिर्जना हुन नदिनु अर्का ठुलो चुनौति रहेकोछ । सम्पूर्ण गतिविधिहरु यहि भुगोल र भुगर्भ भित्रै रहेर गर्नुपर्छ । तसर्थ सहरी दिगो विकासका लागि प्रमुख चुनौतिको रुपमा भौगोलिक एवं भौगर्भिक चुनौती पनि एक मुख्य समस्याको रुगमा रहेको छ। 

सहरी दिगोविकासका लागि भौगर्भिक चुनौती

सहरी विकास, विशेषगरी भौतिक विकासका क्रममा हुने वातावरणीय परिवर्तन र दिगोविकासका लागि गरिएका प्रगतीको विश्लेषण गर्नु आजको प्रमुख आवश्यकताको रहेको छ । यसबाहेक पनि जमिन र वातावरणीय अवस्थाको विश्लेषण र मुल्यांकनका लागि नविन पद्धतीको विकास गर्नुपर्ने देखिन्छ। साथसाथै प्रकोपयुक्त जोखिमको विश्लेषण र मुल्यांकनका लागि नविन पद्दतीको विकास र सुचना संकलन, प्रशोधन र नतिजा विश्लेषण एवं सुचना प्रवाह गर्ने पद्धतीको विकास बिना सन्तुलित सहरी विकासको परिकल्पना गर्न पनि सकिदैन । 

सहर विकासका सामाजिक, सांस्कृतिक संयोजन, आर्थिक परिवर्तन र राजनितिक परिवेशका अलवा भु–वातावरणीय पक्षले पनि निर्देशित गर्दछ भन्ने कुरालाई गौण राखि गरिने विकासले विकास भन्दा विनासलाई प्रशय दिइराखेको हुन्छ । जनचेतना र शिक्षा प्रवाहको पद्धती र माध्यमको क्षमता अभिवृद्धि तथा सम्बन्धित निकायहरुसंग वातवरणीय तथा भौगर्भिक समस्याहरुको पहिचान र न्युनिकरणका लागि समन्वयको अभाव नेपालको सन्दर्भमा देखिएको मुख्य चुनौति हो । यस किसिमको समन्वयको अभाव सिर्जना हुनुको मुख्य कारण भनेको भुगर्भको तुलनामा वातावतणीय एवं आर्थिक परिवर्तन र राजनितिक परिवेशहरुमा मात्र सिमित हुनु नै हो । तसर्थ, योजनागत नगर विकासका लागि उल्लेखित सम्पुर्ण पक्षहरुको नागरिकबिच सकारात्मक समन्वयन गरी विकास निमार्ण गर्नुपर्छ र यो नै आजको आवश्यकता हो।

के हो त सहरी भुगर्भ ?
सहरीकृत क्षेत्रको भौगर्भिक वातावरणलाई मानविय एवं प्राकृतिक प्रकृयाहरुसँग एकाकार गरी गरिने दिगो विकास, पुर्नत्पादन र संरक्षणको लागि आवश्यक भौगर्भिक सुचनाहरुको विश्लेषण र प्रायोगिक अध्ययन नै सहरी भुगर्भ हो । जसअन्तर्गत भुगोल, भुगर्भ एवं भौगर्भिक संरचनाहरुको अवस्थिती, भौगर्भिक विशेषताद्वारा सिर्जित प्राकृतिक प्रकोपहरु, फोहोरमैला एवं प्रदुषण, पहाड, पहाडी फेद, नदी तट जस्ता भौगोलिक सिमाहरु एवं भु–भौगर्भिक पर्यटन समेत पर्दछ। प्राकृतिक स्रोतहरु जस्तै, नदीजन्य निर्माण समाग्री, धातु तथा अधातु जन्य खनिज पदार्थ, भुमिगत एवं सतहि जलस्रोत, जैविक विविधता युक्त जमिन आदीलाई पनि सहरी भुगर्भ अन्तर्गत राखेर समष्टिगत रुपमा अध्ययन गर्नुपर्ने हुन्छ ।

यस्ता सहरी भुगर्भका आयामहरुको समुचित प्रयोग, व्यवस्थापन, विकास अनि संरक्षणमा प्राकृतिक एवं मानव सृजित कारकहरुले अवरोध पुर्‍याई रहेको हुन्छ । जसअन्तर्गत भौगर्भिक एवं भौगोलिक अवरोधहरुको रुपमा सतही एवं भुमिगत भौतिक संरचनाहरुमा कमजोरी, जमिन भासिनु, बाढी, पहिरो तथा भुक्षय, भुकम्प, जमिनको तरलिकरण, बाढी तथा नदीकटान तथा प्राकृतिक विकिरण आदि पर्दछन् । त्यसैगरी मानव सिर्जित अवरोधहरुको रुपमा भुप्रदुषण, मरुभुमिकरण, भुमिगत जल प्रदुषण, सतही जल प्रदुषण एवं फोहोर व्यवस्थापन प्रमुख हुन् ।

भुउपयोग योजना
व्यवस्थित सहरी विकासको लागि भुउपयोग योजना अनिवार्य सर्त हो । भुउपयोग योजनाका पनि विविध आयामहरु हुन्छन् । त्यसमध्ये पनि भौगर्भिक एवं भौगोलिक पक्षलाई प्रमुख रुपमा लिइनुपर्छ । भुउपयोग योजना निर्माणको क्रममा सम्बोधन गर्नुपर्ने मुख्य प्रश्नहरु निम्न रहेका छन्।
˗ भौगोलिक बनोटमा कम क्षतिका साथ अधिकतम र वैज्ञानिक प्रयोग कसरी गर्ने ?
˗ भुमिगत एवं सतहि जमिनको सम्भावित क्षती न्युनिकरण कसरी गर्ने ?
˗ जैविक विविधताको संरक्षण र विकासको लागि प्राकृतिक तथा आकर्षक भुबनोटको संरक्षण कसरी गर्ने ?
˗ वैज्ञानिक तवरले फोहोरमैला व्यवस्थापन कसरी गर्ने ?
˗ प्राकृतिक स्रोतको दीगो एवं व्यवस्थित प्रयोगको लागि उत्पादन, वितरण प्रणालीलाई कसरी व्यवस्थित गर्ने ?
˗ भुमिगत पुर्वाधार, संरचनाहरुको निर्माण तथा विकासका लागि के गर्ने ?
उल्लेखित प्रश्नहरुको यथोचित जवाफ र सोहि अनूरुपको भुउपयोग योजना बनाई कार्यान्वयन गरियो भने मात्र विकास र विस्तार दीगो हुन्छ। 

सहरी क्षेत्रको भौगर्भिक एवं भौगोलिक सूचनाहरु र त्यसको प्रयोग
भुउपयोग योजना निर्माण तथा सम्पुर्ण सहरी भुगर्भको दीगो उपयोगको लागि विभिन्न किसिमका भौगर्भिक सुचनाहरुका आवश्यकता पर्छ । मुख्यगरी चट्टानहरुको अवस्थिति र सतही तथा भुमिगत जलस्रोतको अवस्था सम्बन्धि तथ्याङक आवश्यक हुन्छ । त्यस बाहेक पनि विद्यमान जमिनको असन्तुलन एवं जमिनको गुणस्तरमा भइरहेको क्षयीकरणको दर, प्राकृतिक स्रोतहरुको वर्तमान अवस्था एवं उत्खनन् र उपयोगको सम्भावना तथा विभिन्न प्राकृतिक प्रकोपहरु र बर्षाको पानी एवं ढलको निकासको अवस्थागत तथ्याङकहरुको विश्लेषणबाट नै सहरी दीगोविकासको प्रारुप निर्माणमा टेवा पुग्नेछ।

उल्लिखित भौगर्भिक सुचनाहरुको विश्लेषण र प्रायोगिक अध्ययनबाट नै माथिका प्रश्नको समाधान सहितको भुउपयोग योजना निर्माण गर्न सकिन्छ । यसरी निर्माण गरिने योजनाबाट सडक लगायतका अन्य विकास पुर्वाधारको क्षति न्युनिकरण गर्न त मद्धत गर्छ । त्यसका साथसाथै जमिन तरलिकरण हुने, भासिने समस्याहरु, भुक्षय, पहिरो, बाढी जस्ता प्राकृतिक प्रकोपहरुको पहिचानका साथै जोखिम न्युनिकरणका उपायहरु छनोट र प्रयोगमा समेत सक्षमतामा वृद्धि हुनेछ । प्राकृतिक स्रोतको उचित र उच्चतम उपयोगको खाका निर्माणगरी सोही अनुरुप सम्बन्धित नगर एवं सिंगो राष्ट्रकै आर्थिक, सामाजिक र राजनितिक ऊपस्थिति बलियो हुनेछ । साथै विभिन्न जनस्वास्थ्य सम्बन्धि प्रकोपहरुको स्रोत पहिचान र निदानको क्रममा पनि यस्ता भौगर्भिक एवं भौगोलिक सुचनाहरु अति आवश्यक पर्दछ । 

भौगर्भिक एवं भौगोलिक सुचनाहरु र त्यसको प्रयोगको लागि सम्बन्धित क्षेत्रमा दक्षता भएका विज्ञहरुको विज्ञता आबश्यक हुन्छ । भुगर्भविद्ध, भुजलस्रोतविद्ध, खानी तथा खनिज विशेषज्ञ तथा ईन्जिनियरिंग भुगर्भविद्धहरुको सामुहिक विश्लेषण र प्रायोगिक अध्धयन प्रमुख रहन्छ । साथसाथै वातावरणविद्ध, जैविक विविधता विज्ञ एवं भौगोलिक सुचना प्रणाली विशेषज्ञहरुको टोलीको सामुहिक प्रयासबाट नै गुणस्तरीय, सहि र सन्तुलित भु सुचना प्राप्त हुन्छ ।

अब के गर्ने त?
नेपाल सानो र छोटो दुरी भित्रै समथर तराई मैदान देखि उच्च हिमाली भुभागले ओगटेको राष्ट्र हो। यस्तो विषम भौगभिर्क अवस्था रहेको क्षेत्रमा कार्य गर्न सिमित स्रोतसाधन सहित केन्द्रीयस्तरमा जम्मा एउटा निकाय छ, खानी तथा भुगर्भ विभाग । उक्त निकाय पनि भौगर्भिक नक्सांकन र खनिज अन्वेषणमा सिमित छ । यसका बाबजुत पनि आजसम्म सम्पुर्ण राष्ट्रको भौगर्भिक नक्सा तयार हुन सकेको छैन।

संघीय मुलुक नेपालमा ३ तहका सरकार छन् । उनिहरुका आ–आफ्नै आवश्यकता छन् । ति आवश्यकताहरुलाई भुगर्भ भुगोलसँग जोडेर लानुपर्छ । अतः हरेक स्थानिय र प्रदेश सरकारले आफ्नो आवश्यकता पहिचान गरि कार्य गर्नुपर्छ । कम्तिमा आफ्नो क्षेत्रको भौगर्भिक नक्शांकन, प्रकोपको सम्भाव्यता, सम्भाबित खनिज पदार्थहरु र त्यसको अवस्था र जमिनको भुईन्जिनियरिङ्ग गुणहरुको तथ्याङक संकलन गरी सोही अनुरुप निति निर्माण गर्ने र कार्यान्वयनमा लैजानु पर्छ । 
यति भएमात्र पनि डोजरको भरमा निर्माण गरिने ग्रामिण सडकहरुको गुणस्तर बढाउन सकिन्छ । साथै अन्य भौतिक पुर्वाधार निर्माणमा पनि सहयोग मिल्नेछ । भुक्षय, पहिरो, बाढी जस्ता प्राकृतिक प्रकोपहरुको पहिचानका साथै जोखिम न्युनिकरण गर्न मद्यत मिल्छ । प्राकृतिक स्रोतहरु (विभिन्न किसिमका खनिज पदार्थहरु, नदिजन्य निर्माण सामाग्रीहरु आदि) को उचित र उच्चतम उपयोगबाट सम्बन्धित क्षेत्रको आर्थिक, सामाजिक अवस्था बलियो बनाउन सकिनेछ । साथै विभिन्न जनस्वास्थ्य सम्बन्धि प्रकोपहरुको स्रोत पहिचान र निदानमा पनि मद्यत मिल्नेछ।



लोकप्रिय समाचार
नयाँ