arrow

नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौजसहित हातपात    

बढी भुक्तानी लिएको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्छ भनेपछि हातपात भएको गुनासो                

logo
प्रकाश बम,  
प्रकाशित २०७७ साउन ९ शुक्रबार
shankar-raj-khanal.jpg

डोटी । नेकपा डोटीका नेताले पूर्वीचौकी गाउँपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गरेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती माध्यमिक विद्यालय सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनालमाथि कार्यालयमै हातपात गरेका हुन् ।

बिहीबार मध्यान्ह १२ बजे  गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा तथानाम गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरिएको छ  ।

सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको बिषयलाई लिएर हातपात भएको खुल्न आएको छ । उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको ईन्जिनियर शंकरराज खनालले बताए । 

खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेष्कि लिएर काम सुरु गरेका थिए । प्राबिधिकले टिप्पणी उठाउँदा त्रुटि हुनगई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिईएको थियो ।

प्राबिधिक त्रृटीका कारण १२ लाख भुक्तानी भएको बताउदै तर काम ६ लाख ७२ हजारको मात्रै भएको  इन्जिनियर खनालले जानकारी दिए ।   

उपभोक्ता समितिले  गरेको श्रमदानको ८८ हजार घटाएर दिँदा ५ लाख ८४ हजार जती भुक्तानी हुनुपर्नेमा  ५ लाख ७० हजार पेष्कि लिईसकेका कारण २० हजारको आसपासमा मात्रै खड्काले भुक्तानी पाउनुपर्ने हो । बढी भुक्तानी लिएको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्छ भनेपछि आफुमाथि हातपात गरिएको इन्जिनियर खनालले हाम्राकुरालाई जानकारी दिए ।

इन्जिनियर खनालले भने, ‘योजनाका अध्यक्ष खड्काले भुक्तानी भएको सबै रकम आफुले पाउनुपर्ने दाबी गर्दै  रकम फिर्ता नगर्ने भन्दै गालीगलोच सहित एक्कासी कार्यालयभित्र आक्रमण गरेको हो ।’

यसरी कार्यालयमै आएर काम नगरि योजनाको पैसा खान प्राविधिकमाथि हातपात गर्ने, धम्काउने गालीगलोच गर्ने जस्ता कार्यले सिङ्गो कर्मचारीहरुको अपमान गरेको उनको गुनासो छ।



लोकप्रिय समाचार
नयाँ