काठमाडौं। बैंकहरुमा अधिक तरलता थुप्रिएसँगै कर्जाको नयाँ ब्याजदर सार्वजनकि गर्न थालेका छन्। बैंकहरुले सूचना सार्वजनिक गर्दै नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका हुन्।
बैंकहरुसँग यसअघि देखि नै करिब १ खर्ब ७० अर्ब रुपैयाँ अधिक तरलता रहेको र त्यसमाथि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सिसिडी रेसियो बढाएपछि बैंकहरुले यसअघिको ब्याजदरमा केही परिवर्तन गर्दै ब्याजदर सार्वजनिक गर्न थालेका हुन्। गत शुक्रबार (२ साउन) मा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकहरुसँग भएको कुल रकमको ८५ प्रतिशतसम्म लगानी वा कर्जा प्रवाह गर्न सक्ने नीति ल्याएसँगै बैंकहरुको कर्जा लगानी गर्न सक्ने सिमा बढेको छ। यसअघि उक्त सिसिडी रेसियो ८० प्रतिशत रहेको थियो। ५ प्रतिशतले सिसिडी रेसियो बढाइएसँगै थप कर्जा वा लगानी विस्तार गर्न सक्नेछन्।
कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण कर्जाको माग नआएपनि पछिल्लो समय सरकारले लकडाउन खोलेसँगै कर्जाको माग आउने आँकलन बैंकहरुले गर्न थालेका छन्।
बैंकहरुले विभिन्न किसिमका कर्जामा सस्तो तथा सरल ब्याजदरमा कर्जा दिइने जनाएका छन्। सो अनुसार ग्लोबल आइएमई बैंकले घर निर्माण, तथा गाडी खरिद गर्न कर्जा लिन चाहने ग्राहकलाई लक्षित गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक ब्यजदलर अनुसार ग्लोबार आइएमई बैंकबाट ग्राहकले ग्लोबल घर कर्जा ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा कर्जा लिन पाउने छन्।
उक्त कर्जाको अवधि २५ वर्षसम्म रहने ग्लोबल आइएमई बैंकले जनाएको छ। त्यस्तै ग्लोबल आइएमई बैंकले ८ दशमलव ९९ प्रतिशतमा सवारी कर्जा उपलब्ध गराउने भएको छ । त्यस्तै ९ दशमलव ४९ प्रतिशत ब्याजदरमा सेयरको धितो राखेर कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।
त्यसैगरी नबिल बैंकले ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने जनाएको छ। उक्त कर्जा सम्पूर्ण ऋणीका हकमा लागु हुने नबिल बैंकले जनाएको छ। त्यस्तै सनराइज बैंकले ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका व्यक्तिलाई उद्यम तथा व्यवसाय सञ्चालनका लागि सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। सनराइज बैंकले सीप क्षमता भएका तर, लगानीको अभाव भएकालाई ‘सनराइज सरल एसएमई कर्जा’ ९ दशमवल ९५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो।
त्यस्तै एनआइसी एसिया बैंकले ८ दशमलव ५० प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जानकारी दिएको छ। एनआइसी एसिया बैंकले ५ वर्षदेखि ३० वर्षसम्मका लागि उक्त ब्याजदरमा कर्जा उपलब्ध गराउने जानकारी दिएको हो।